काठमाडौं । नेपालबाट सामान्यतया दुई किसिमका मानिस विदेश जान्छन् । एकथरी कमाउन र अर्कोथरी घुम्न अर्थात खर्च गर्न । कमाउन जानेले नेपालको ढुकुटीमा सञ्चिति हुनेगरी विदेशी मुद्रा पठाउँछन् भने घुम्न जानेले त्यही ढुकुटीको पैसा विदेशमा खर्च गर्छन् ।
विदेश यात्राको सामान्य सिद्धान्त पनि यही नै हो । तर, नेपाल राष्ट्र बैंकले हालै एउटा अचम्मलाग्दो नीति ल्याएको छ– कामदार भिसामा जानेलाई २ सय डलरभन्दा बढी सटही सुविधा नदिने ।
झट्ट हेर्दा विदेशमा कमाउन जानेलाई धेरै पैसा आवश्यक पर्दैन किनकी उनीहरुको बसोबास र खानपानको व्यवस्था रोजगारदाताले नै गरिदिएको हुन्छ । तर, यसको अर्को पाटो पनि छ । यसले वैदेशिक रोजगारीमा जाने आम नेपाली जसले पठाएको डलरले नै नेपालको ढुकुटीमा विदेशी मुद्रा सञ्चिति छ र डरलाग्दो रुपमा बढिरहेको व्यापारघाटाको पूर्तिसमेत गरिरहेको छ, उनीहरुमाथि नै राज्य नियन्त्रणमुखी देखिएको छ ।
वैदेशिक रोजगारीमा जानेहरुबाट पुँजी पलायन भएको राज्यको निष्कर्ष हो भने त्यसलाई पुष्टि गर्न सक्नुप¥यो तर यसले नेपाली अर्थतन्त्रका मेरुदण्डका रुपमा रहेका ४० लाख युवा र जाँदै गरेका लाखौं नेपाली युवाको योगदानको अवमूल्यन भएको छ ।
राष्ट्र बैंकले भने विदेशी विनिमय सञ्चितिमा ह्रास आउन थालेपछि सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीले लैजान पाउने वैदेशिक मुद्राको सुविधामा कटौती गरेको जनाएको छ । बैंकका अनुसार वैदेशिक रोजगारीमा जानेहरूले अबदेखि २ सय अमेरिकी डलरसम्मको वैदेशिक मुद्राको मात्र सटही सुविधा पाउने छन् । यसअघि ५ सय डलरसम्मको वैदेशिक मुद्रा साट्ने सुविधा थियो ।
रोजगारीमा जानेका लागि २ सय डलर पर्याप्त हुने दाबी गर्दे राष्ट्र बैंकले कामदार विदेश पुगेपछि उसको खर्च रोजगारदाता कम्पनीले गर्ने भएकाले ठूलो मात्रामा वैदेशिक मुद्रा बाहिरिन नदिन यस्तो व्यवस्था गरिएको जनाएको छ ।
राष्ट्र बैकका अनुंसार हाल कुल विदेशी विनिमय सञ्चिति असार मसान्तको तुलनामा ३.३ प्रतिशतले कमी आइ मंसिर मसान्तमा १० खर्ब ६५ अर्ब ८० करोड रहेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तको १० अर्ब ८ करोडबाट ७.९ प्रतिशतले कमी आई २०७५ मंसिर मसान्तमा ९ अर्ब २९ करोड रहेको छ ।
प्रतिक्रिया