काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आउँदो साता हुने साधारणसभा र निर्वाचनका लागि उम्मेदवारी दिनेमध्ये वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ सबैभन्दा ज्येष्ठ पदाधिकारी उम्मेदवार रहेका छन् ।
महासंघ निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठको उमेर ६६ वर्ष रहेको छ भने उनीसँगै प्रतिस्पर्धा गरिरहेका रामचन्द्र संघई ६२ वर्षका भएका छन् ।
वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार अञ्जन श्रेष्ठ भने ५३ वर्षमात्र रहेको समितिले जनाएको छ ।
आठ वर्षअघि पशुपति मुरारका अध्यक्षमा चयन भएसँगै महासंघ नेतृत्व युवा पुस्तामा हस्तान्तरण भए पनि अहिले भने दुई पुस्ताबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ ।
महासंघ निर्वाचनमा पदाधिकारीमध्ये सबैभन्दा कम उमेरका उम्मेदवार भने भरत आचार्य रहेका छन् । एशोसिएट उपाध्यक्षमा उम्मेदवारी दिएका आचार्यको उमेर ४४ वर्षमात्र भएको छ । आचार्यसँग प्रतिस्पर्धा गरिरहेकी ज्योत्सना श्रेष्ठ ५९ वर्ष भएकी छन् ।
जिल्लानगर उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठ ६५ वर्ष भएका छन् भने अरुणराज सुमार्गी ५६ र सुरकृष्ण वैद्य ५८ वर्ष भएका छन् ।
वस्तुगत उपाध्यक्षका उम्मेदवार सुकुन्तलाल हिराचन पनि ६५ वर्षका रहेका छन् । वस्तुगत उपाध्यक्षका उम्मेदवारमध्ये सबैभन्दा कम उमेरका मनिषलाल प्रधान रहेका छन् । उनी ५४ वर्षका भए भने हेमराज ढकालको उमेर ५५ वर्ष रहेको छ ।
सदस्यका उम्मेदवारहरुमध्ये सबैभन्दा ज्येष्ठ उम्मेदवारमा एशोसिएटतर्फका हरिप्रसाद पाठक रहेका छन् । उनी ६९ वर्षका भए ।
कम उमेरका उम्मेदवारहरुमा एशोसिएटतर्फ सदस्य उम्मेदवार चिराग गोयल रहेका छन् । उनी २९ वर्षका भएका छन् भने द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट निर्विरोध निर्वाचित सुनिलकुमार केसी ३१ वर्षको भएका छन् ।
एशोसिएट सदस्यका उम्मेदवार मनोज पौडेल ३२ वर्षका छन् भने जिल्लानगरबाट कल्पना गैरे ३७ वर्ष रहेकी छन् । गैरे यसअघि दुईपटक कार्यसमिति सदस्य मनोनित भइसकेकी छन् ।
वस्तुगत सदस्यमा ३३ वर्षका ध्रुवबहादुर गौतम, ३७ वर्षका रितेश लामिछाने र ४१ वर्षका पशुपतिदेव पाण्डे कम उमेरका उम्मेदवारहरु हुन् ।
प्रतिक्रिया