काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा तर्फको सदस्य पदमा व्यवसायी शिवप्रसाद घिमिरेले उम्मेदवारी दिएका छन् । घिमिरे वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठको समूहबाट वस्तुगत सदस्य पदमा उम्मेदवार छन् ।
नेपाल एलपी ग्यास उद्योग संघले शुक्रबार राजधानीमा घिमिरेको उम्मेदवारी तथा परिचयात्मक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा दिइएको जानकारी अनुसार घिमिरे विगत ४ दशकदेखि विभिन्न व्यवसायहरुमा संलग्न छन् ।
सातै प्रदेशमा पेट्रोलियम कारोवार तथा खाना पकाउने एलपी ग्याँसका ७ वटा ग्यास उद्योगहरु सञ्चालन गरिरहेका घिमिरेको कृषि क्षेत्र अन्तर्गत चिया उद्योग, चिया वगान, अकवरे खोर्सानी उत्पादन तथा प्रशोधन, कत्था उद्योग तथा निजि बन पैदावार जस्ता व्यवसाय रहेका छन् ।
शिक्षा तथा सञ्चार क्षेत्रमा पनि उनी आवद्ध छन् भने अटोमोवाइल क्षेत्रमा रहेका घिमिरे विद्युत उत्पादनमा भने आक्रामक लगानी गरिरहेका छन् ।
घिमिरेको सहलगानीमा कालङ्गा, वुंगल, सानिगाड हाइड्रो वझाङ र गुराँस हाइड्रो संखुवासभा गरि १०५ मेगावाट क्षमताका हाइड्रो कम्पनीहरु रहेको छ ।
यस्तै, पेट्रोलियम ढुवानीको सेवा क्षेत्रमा संलग्नता तथा पेट्रोल पम्पसमेत सञ्चालन गरिरहेका घिमिरे विभिन्न निर्माण कम्पनीहरुमा संलग्न छन् ।
घिमिरेका हाल विभिन्न ४ दर्जन भन्दा बढी उद्योग तथा व्यवसाय कम्पनीहरु सञ्चालनमा रहेको छ भने उनी नेपाल पेट्रोयिम डिलर राष्ट्रिय एसोसिएसनका पूर्व अध्यक्ष तथा नेपाल एल पि ग्यास उद्योग संघका पूर्व अध्यक्ष हुन् ।
घिमिरे हाल नेपाल कत्था उद्योग संघको अध्यक्ष रहेका छन् ।
प्रतिक्रिया