Logo

Banner-news

बैंकको चर्को ब्याजविरुद्ध उद्योगी सडकमा, २४ गते उद्योगको साँचो सरकारलाई बुझाउने


appharu
   १४ माघ २०७५, सोमबार


विराटनगर । मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगीहरू आन्दोलित भएका छन् ।  बैंकहरूले आफूखुसी ब्याजदर बढाएको भन्दै उनीहरु सडकमा ओर्लनुपरेको बताउँछन् ।

व्यवसायीले चरणबद्ध आन्दोलनकै घोषणा गरेका छन् । पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत आइतबार जिल्ला प्रशासन कार्यालय मोरङ र राष्ट्रबैंकमार्फत सरकारलाई ज्ञापनपत्र पठाएका छन् । विरोध जुलुससहित प्रशासन कार्यालय पुगेका उद्योगी व्यवसायीहरुले मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीलाई ज्ञापनपत्र बुझाए ।

सरकारले उद्योगी व्यवसायीलाई राहत दिनुको सट्टा झनै आहत बनाएको भन्दै उद्योगीहरू आन्दोलित भएका हुन् । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

एक हप्ताको अल्टिमेटम दिएर उनीहरुले सरकारलाई ज्ञापनपत्र पठाएका हुन् । एक हप्ताभित्र माग पूरा नभएको दोस्रो चरणको कार्यक्रम सुरु गर्ने जनाएका छन् । दोस्रो चरणको कार्यक्रम पनि सार्वजनिक गरिसकेका छन् ।

कम उत्पादन लागत भएका विदेशी वस्तुका कारण उद्योगको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आइरहेका बेला बैंकले मनोमानी रुपमा ब्याज बढाएकाले बाध्य भएर आन्दोलन घोषणा गर्नुपरेको संगठन र संघले जनाएका छन् । बैंकको बढ्दो ब्याजदरकै कारण उद्योगहरू संकटग्रस्त भएको उनीहरूको भनाइ छ ।

बैंकले १२ प्रतिशतसम्म ब्याजदर पु¥याएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । अहिलेकै ब्याजदर कायम रहे धेरै उद्योगीहरू टाट पल्टिएर भाग्न बाध्य हुने उनको कथन छ ।

उद्योगीका समस्या समाधान गर्ने विषयमा प्रधानमन्त्रीसमेत उदासिन देखिएको उनीहरूको आरोप छ । गत साउन १९ गते उद्योग संगठनको नेतृत्वमा बालुवाटारमै पुगेर प्रधानमन्त्रीलाई उद्योगीहरूले औद्योगिक क्षेत्रका समस्याका ज्ञापनपत्र बुझाएका थिए ।

त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवलाई राखेर समस्या समाधानका विषयमा छलफलसमेत गरेका थिए । छलफलका क्रममा प्रधानमन्त्रीले दिएको आश्वासन हालसम्म पूरा नभएको उनीहरूको भनाइ छ ।

औद्योगिक समस्या समाधान गर्न कार्यदलसमेत गठन भएको थियो । “बैंकहरू गाउँका साहु महाजनजस्तै भए,” मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले भने, “बाध्य भएर आन्दोलनमा उत्रिनुपर्ने अवस्था सिर्जना भयो ।”

आन्दोलनका कार्यक्रमअन्तर्गत माघ २० देखि २३ गतेसम्म हरेक दिन राष्ट्रबैंकको प्रवेशद्वारमा धर्ना दिने रहेका छन् । २३ गतेसम्म माग सम्बोधन नभए २४ गते मोरङ–सुनसरी औद्योगिक क्षेत्रका सबै उद्योगको चाबी सरकारलाई बुझाउने संगठनका अध्यक्ष घिमिरेले बताए ।

प्रकाशित : १४ माघ २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह