Logo

अर्थनीति

महासंघ कार्यसमितिमा पहिलोपटक पाँच महिला उद्यमी निर्वाचित, थप एक मनोनित हुँदै


GDP Nepal
   ३० चैत्र २०७९, बिहिबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा पहिलोपटक पाँच जना महिला उद्यमी व्यवसायी प्रत्यक्ष निर्वाचित भएका छन् ।

महासंघको एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र कार्यकारिणी समिति सदस्यहरुमा कल्पना गैरे, कमला श्रेष्ठ, शोभा ज्ञवाली र जुना माथेमा निर्वाचित भएका हुन् ।

महासंघमा हालसम्म अध्यक्षमा महिला (भवानी राणा) निर्वाचित भए पनि यति ठूलो संख्यामा निर्वाचित भएको यो पहिलो हो । महिलाका लागि छुट्टै आरक्षण नरहे पनि पुरुष प्रतिस्पर्धीसँगै निर्वाचनबाट महिला उद्यमीहरु कार्यकारिणी समितिमा चुनिएका हुन् ।

महासंघ इतिहासमा एशोसिएट उपाध्यक्ष निर्वाचित हुने ज्योत्सना पहिलो महिला हुन् । उनी यसअघि तीन कार्यकाल एशोसिएट सदस्य निर्वाचित भएकी थिइन् । मेरीगोल्ड ज्वेलर्सकी सञ्चालक ज्योत्सना नेपाल रत्न तथा आभूषण संघको अध्यक्ष पनि हुन् ।

महासंघमा तेस्रो कार्यकाल सदस्य निर्वाचित भएका कमला श्रेष्ठ नेपाल सौन्दर्यकला व्यवसायी संघका अध्यक्ष हुन् । उनी वस्तुगत समूहबाट सदस्य निर्वाचित भएकी हुन् ।

महासंघमा वस्तुगत समूहबाटै सदस्य निर्वाचित शोभा ज्ञवाली मिडिया उद्यमी हुन् भने उनी महिला उद्यमी महासंघको उपाध्यक्ष छन् ।

महासंघमा यसअघि दुई कार्यकाल सदस्य मनोनित भइसकेकी कल्पना गैरे पहिलोपटक जिल्लानगरबाट प्रत्यक्ष निर्वाचित भएकी छन् । उनी पूर्वअध्यक्ष भवानी राणापछि जिल्लानगरबाट महासंघमा प्रत्यक्ष निर्वाचित पहिलो महिला पनि हुन् ।

एशोसिएट समूहबाट सदस्यमा निर्वाचित जुना माथेमा ब्लिट्ज मिडिया नामक विज्ञापन तथा रिसर्च एजेन्सी सञ्चालक हुन् । उनी पहिलो प्रयासमै महासंघ प्रवेश गरेकी छन् ।

महासंघ विधानको दफा ३४.६ अनुसार कार्यकारिणी समितिका तीन मनोनित सदस्यमध्ये एक महिला अनिवार्य भएकाले हालको समितिमा कूल महिला सदस्य संख्या ६ पुग्नेछ ।

महासंघको कार्यकारिणी समिति ७९ सदस्यीय हुने व्यवस्था छ ।

प्रकाशित : ३० चैत्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह