Logo

अर्थनीति

महासंघमा अञ्जन श्रेष्ठः २८ वर्षपछि पोखराले निजी क्षेत्रको नेतृत्व सम्हाल्दै !


GDP Nepal
   ३० चैत्र २०७९, बिहिबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । पहिलो चरणमा सबैभन्दा बढी भोट ल्याएका अञ्जन दोस्रो चरणमा भने निर्विरोध निर्वाचित भए । उनका प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले अञ्जनको नेतृत्व स्वीकार्दै मतदानमा नजाने सहमति गरेसँगै अञ्जन वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भए ।

पोखरामा व्यावसायिक पृष्ठभूमि रहेको लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अञ्जनले महासंघमा वि. सं. २०८२–८५ मा नेतृत्व सम्हाल्नेछन् । वरिष्ठ उपाध्यक्षका रुपमा आगामी तीन वर्ष आफ्नो नेतृत्व क्षमता विकास गर्ने र महासंघमा पुगेर लागू गर्ने योजनाको तयारीमा बिताउने पर्याप्त अवसरसमेत पाएका ५३ वर्षीय अञ्जन व्यवसायजस्तै चेम्बर आन्दोलनमा पनि अनुभवी छन् ।

महासंघमा तीन कार्यकाल सदस्य रहेका अञ्जन एशोसिएट पृष्ठभूमिका रहे पनि उनलाई नाडा अटोमोबाइल्स एशोसिएसनको नेतृत्वले नै सफलता दिएको हो । उनी ६ वर्षअघि नाडाकै प्रतिनिधित्व गर्दै वस्तुगत सदस्यका रुपमा आफूलाई सिफ्ट गरे र अर्को कार्यकाल भारी मतले उपाध्यक्षमा निर्वाचित भए ।

संयोगवश अञ्जन पहिलोपटक वस्तुगत संघमा प्रवेश गर्दा उपाध्यक्ष रहेका उमेशलाल श्रेष्ठलाई दोस्रो कार्यकालमा उपाध्यक्ष हुनबाट रोके भने वरिष्ठ उपाध्यक्षमा पनि उनका निकटतम प्रतिस्पर्धी उनै उमेशलाल श्रेष्ठ थिए ।

यद्यपि, उमेशलालले दोस्रो चरणको निर्वाचन हुन दिएनन् र महासंघ राजनीतिमा अञ्जनको नेतृत्व आफूलाई स्वीकार भएको घोषणा गरे । उमेरमा झन्डै डेढ दशक अन्तर भए पनि उमेशलाल र अञ्जन महासंघ राजनीतिमा भने समकालीन हुन् । दुवैले एशोसिएट सदस्यका रुपमा महासंघमा ‘इन्ट्री’ गरेका हुन् ।
अञ्जन पोखरा जन्मेहुर्के पनि स्कुले शिक्षा भने काठमाडौंमै लिएका हुन् । अञ्जनको परिवारले यसअघि पनि महासंघको नेतृत्व लिने प्रयास भने नगरेको होइन । वि. सं. २०६७ मा आफ्ना मामा आजाद श्रेष्ठ अध्यक्षको निर्वाचनमा पराजीत भएसँगै महासंघको प्रत्यक्ष राजनीतिबाट टाढिए तर अञ्जनले महासंघ छाडेनन् ।

प्रदीपजंग पाण्डे र भाष्करराज राजकर्णिकारबीच २०७० मा भएको निर्वाचनमा पाण्डेको मुख्य चुनावी रणनीतिकार बनेका अञ्जन सो वर्ष अर्को पक्षको तारो बन्दा सदस्यमा समेत पराजय बेहोर्नु परेको थियो । संयोगवश यसपटक वरिष्ठ उपाध्यक्षको निर्वाचनमा होमिँदा उनै पाण्डेका छोरा प्रवलजंग पाण्डे उनको बलियो सहयोगी बने ।

महासंघ नेतृत्वमा पोखराबाट यसअघि २०५४ सालमा आनन्दराज मुल्मी निर्वाचित भएका थिए । मुल्मीले चिरञ्जीवीनिधि तिवारीलाई पराजीत गरेका थिए भने त्यसयता पोखराबाट महासंघ नेतृत्वमा पुग्ने अञ्जन नै हुने भएका छन् । अञ्जनले नेतृत्व सम्हाल्ने वर्ष अर्थात २०८२ सम्म अर्थात २८ वर्षपछि पोखराले निजी क्षेत्रको नेतृत्व गर्ने अवसर पाउँदैछ ।

प्रकाशित : ३० चैत्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह