Logo

मुख्य समाचार

राष्ट्रिय आम्दानीको महत्वपूर्ण स्रोत ऊर्जा : अर्थमन्त्री महत


GDP नेपाल
   ६ बैशाख २०८०, बुधबार


अर्थमन्त्री डा प्रकाशशरण महतले ऊर्जाक्षेत्र राष्ट्रको आम्दानी बढाउन महत्वपूर्ण स्रोत भएको बताउनुभएको छ । आज काठमाडौँमा ऊर्जा सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै उहाँले ऊर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको पनि योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

“सन् ९० को दशकभन्दा अगाडि एक/दुई मेगावाट बराबर मात्रै विद्युत् उत्पादन हुन्थ्यो । निजी क्षेत्र विद्युत् उत्पादनमा संलग्न भएपछि राष्ट्रिय प्रसारणमा विद्युत् थपिँदै गएको छ । यसबाट हाम्रो माग पूरा गरेर निर्यातसम्मको अवस्थामा पुगेका छौँ”, अर्थमन्त्री डा महतले भन्नुभयो ।

ऊर्जा क्षेत्रमा राम्रो सम्भावना देखेरै निजी क्षेत्रका लगानीकर्ता आकर्षित भएको उल्लेख गर्दै उहाँले अहिले नेपाल यो क्षेत्रमा आत्मनिर्भर भएर विदेशमा निर्यातसमेत थाल्नु खुसीको कुरा भएकोे बताउनुभयो । ऊर्जा क्षेत्रमा लगानीकर्तालाई आकर्षितसमेत गरेको अर्थमन्त्री डा महतको भनाइ थियो ।

“नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गर्दछु । लगानीकर्तालाई पर्ने समस्या समाधान गर्न सरकार तयार छ”, उहाँले भन्नुभयो, “लगानीकर्तालाई विभिन्न सहुलियत र सुविधा दिन तयार छौँ । निजी क्षेत्रले पछिल्लो समय गरेको लगानीमा पनि राम्रो नतिजा आएको छ । नेपालको गतिलो आम्दानीको स्रोत नै ऊर्जा हो ।”

नेपालको विद्युत् भारत, बङ्गलादेशलगायत देशमा पु¥याउनका लागि पनि सरकारले पहल गर्ने अर्थमन्त्री डा महतको भनाइ थियो । “सरकारले विद्युत् भारत निर्यात गर्ने संयन्त्र बनाउने छ । विद्युत्का लागि बङ्गलादेश अर्को ठूलो बजार हो । बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौतापछि त्यसतर्फ निर्यात गर्न सकिने छ”, उहाँले भन्नुभयो, “विश्व बैंकजस्ता ठूला लगानीकर्ताहरु समेत नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक छन् । उनीहरुले मध्यम खालका परियोजनामा चासो देखाएको मैले बुझेको छु ।”

विद्युत्को आन्तरिक खपत बढाउन आवश्यक रहेको उल्लेख गर्दै अर्थमन्त्री डा महतले विद्युतीय सवारी साधनको प्रयोग बढाएर यातायातको क्षेत्रलाई विद्युतीकरण गर्नुपर्छ । घरायसी प्रयोजनका लागि पनि बिजुलीको खपत बढाउन आवश्यक भएको उल्लेख गर्नुभयो ।

प्रकाशित : ६ बैशाख २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह