नेपाल हिमालय सिमापार वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभाबाट निर्वाचित अध्यक्षलगाएत सम्पूर्ण कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको सम्मानमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अहिलेको जटिल अवस्थामा निजी क्षेत्र र सरकार मिलेर जानुको विकल्प नरहेको बताए ।
अहिलेको अर्थतन्त्र जटिल अवस्थामा पुगेको बताउँदै ढकालले यसको रक्षाका लागि सबै जना मिलेर लाग्नुपर्ने बताए ।
“अर्थतन्त्रमा क्रमिक सुधार आइरहेको जून अवस्था अहिले मुलुकले भोगेको छ, त्यसको चाडै अन्त्य हुन्छ”, अध्यक्ष ढकालले भने ।
उनले भूकम्प, नाकाबन्दी, कोभिड, बाढीपहिरो र विपत्तिका कारण उत्तरी नाका तातोपानीको निकासी एवं पैठारी व्यापारमा असर परेकाले त्यो समस्या समाधान उन्मूख भएको र निकट भविष्य नै यो नाकाले ट्रयाक समात्न लागेको बताए । यस्तै, नाकाको विकास, विस्तार र सडक पूर्वाधार विकासका लागि महासंघले समन्वयको भूमीका निर्वाह गर्ने ढकालले बताए ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अर्थतन्त्र लथालिङ्ग भए पनि भताभुङ्ग भने नभइसकेकाले यसलाई ट्रयाकमा ल्याउन सरकार र निजी क्षेत्र एक भएर अघि बढ्नुपर्ने बताए । यसका लागि दुवै तर्फबाट ठूलो कोशिश र कडा मेहेनतको आवश्यकता पर्नेमा उनले जोड दिए ।
सो कार्यक्रममा नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघलाई व्यवसायीका समस्या र अधिकारका सवालमा चनाखो भइदिन आग्रह गरे ।
उनले भने “महासंघ देशभरको उद्यमी व्यवसायीको छाता संगठन हो । यसले व्यवसायीका आवाजलाई सहि ठाउँमा पुर्याउन सकोस्, यही नै मेरो शुभकामना छ ।”
प्रतिक्रिया