Logo

मुख्य समाचार

असहज अर्थतन्त्रलाई सम्बोधन गर्न मौद्रिक नीतिको समीक्षा अपर्याप्त : निकासी पैठारी संघ


GDP नेपाल
   २ जेष्ठ २०८०, मंगलबार


नेपाल समुद्रपार निकासी पैठारी संघले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा केही लचिलो भए पनि आर्थिक क्षेत्रलाई अपेक्षाकृत चलायमान बनाउन भने अपुग रहेको बताएको छ । राष्ट्र बैंकले चालेको कदममार्फत कसिलो व्यवस्थालाई खुकुलो बनाउने प्रयास गरिएकोमा धन्यवाद ज्ञापन गर्दै संघले अर्थतन्त्रको असहज अवस्थालाई सम्बोधन गर्नका लागि भने यति प्रयास मात्र काफी नहुने निष्कर्ष निकालेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट जारी भएका ऋणपत्रलाई कर्जा निक्षेप अनुपात गणनामा निक्षेपको रुपमा समेत गणना गर्न पाउने हालको व्यवस्थालाई आगामी पुस मसान्तसम्म निरन्तरता दिने प्रावधानले बैंकिङ प्रणालीमा तरलताको आकार बढाउन र बैंकहरुलाई कर्जा प्रवाह गर्न प्रेरित गर्ने संघले जनाएकोे छ । यस्तै, ऋणात्मक वृद्धिदर भएका केही क्षेत्रलाई रिफाइनान्सिङ गर्ने व्यवस्थालाई पनि संघले सकारात्मक रुपमा लिएको छ ।

समीक्षामार्फत पछिल्ला दुुई त्रैमाससम्म लगातार ऋणात्मक वृद्धि भएका आर्थिक क्षेत्रसँग सम्बद्ध ऋणीहरुले सुविधा पाउने गरी कोषमा उपलब्ध स्रोतको सीमाभित्र रही पुनर्कर्जा सुविधा उपलव्ध गराउने व्यवस्था मिलाइएको छ । यो व्यवस्थाअनुसार उद्योग, निर्माण र व्यापार क्षेत्रसँग सम्बन्धित व्यवसायले यो सुविधा पाउनेछन् । तर, व्यापार क्षेत्रलाई नकारात्मक सूचीमा राख्न सक्ने सम्भावना पनि रहेको हुँदा मर्का परेका सबैलाई सुविधा दिइनुपर्ने संघको माग छ ।

त्यस्तै, ऋणात्मक भएका मात्र नभई न्यून वृद्धि भएका अन्य क्षेत्रहरु पनि समस्यामा रहेको हुँदा तिनलाई पनि उक्त सुविधा उपलब्ध गराउनुपर्ने संघले जनाएको छ । संघले पुनर्कर्जा सुविधाले करिब ५० अर्ब रुपैयाँ बजारमा प्रवाह हुने अपेक्षा गरे पनि गत वर्षजस्तै एकैपटक पुनर्कर्जा रकम फेरि तानिने आशंकाका बीच यसले नतिजा दिन सक्नेमा बैंकर्सहरुले नै आंशका व्यक्त गरिरहेको सन्दर्भमा त्यसतर्फ केन्द्रीय बैंकको ध्यानाकर्षण गराएको छ ।

होटल तथा रेस्टुरेन्ट, पशुपक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र पाँच करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुनर्संरचना र पुनर्तालिकीकरण गर्न सक्ने सुविधा दिएको छ । यो व्यवस्था सकारात्मक भए पनि पुनर्संरचना र पुनर्तालीकीकरण गर्ने समय दुई महिनामात्र बाँकी रहेकोले यसलाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा पनि निरन्तरता दिनुपर्ने संघको माग छ ।

अल्पकालीन/डिमान्ड लोनलाई तीन महिना समय थप गर्नु मौद्रिक नीति समीक्षाको अर्को सकारात्मक कदम रहेको संघले जनाएको छ । बैंक रेटमा गरिएको कटौतीले कर्जाको ब्याजदर घटाउन मदत गर्ने हुँदा उक्त व्यवस्थाको पनि संघले स्वागत गरेको छ ।

यस्तै, आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सुधार र सहजीकरणलाई निरन्तरता दिई अर्थतन्त्रलाई चलायमान बनाउने प्रयास गर्न संघले आग्रह गरेको छ ।

प्रकाशित : २ जेष्ठ २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह