काठमाडौं । नेपालको डेरी क्षेत्रमा अलग्गै पहिचान स्थापना गर्ने उद्देश्यले स्थापना भएको मार्टिन डेरीले उपभोक्तालाई फरकपनाको स्वाद उपलब्ध गराउन आफ्ना उत्पादनलाई विविधीकरण गरेको छ ।
मार्टिन डेरीले उपभोक्ताको चाहनालाई मध्यनजर गर्दै ६ प्रकारका फ्लेवर दूध बजारमा ल्याएको हो । जसमा प्रिस्टा मिल्क, चकलेट मिल्क, केशर मिल्क, भेनिला मिल्क, कोल्ड कफी र स्ट्रबेरी फ्लेबरमा दूध उत्पादन सुरु गरेको मार्टिन डेरीले जनाएको छ । दुई सय मिलिलिटरको बोतलमा उपलब्ध यी फ्लेवर दूधको मूल्य ८० र ८५ रुपैयाँ निर्धारण गरिएको छ ।
‘स्वाद पनि स्वास्थ्य पनि’ भन्ने मूल नाराका साथ उपभोक्तामाझ आएको मार्टिन डेरीले यसअघि बजारमा ल्याइसकेको मार्टिन आइसक्रिम पारखीहरुका माझ निकै लोकप्रिय छ ।
मार्टिन डेरीका प्रमुख सञ्चालन अधिकृत द्वारिकानाथ महर्जनले लामो अनुभव र बजारको अध्ययनपछि उपभोक्ताको रुचिअनुसार शुद्ध दूधबाट बनाइएका नयाँ प्रडक्टहरु लोकप्रिय हुनेमा कम्पनी विश्वस्त रहेको छ ।
डेरीले काभ्रेपलाञ्चोक, धादिङ र नुवाकोटबाट शुद्ध दूध ल्याएर अन्तर्राष्ट्रियस्तरको आधुनिक मेसिन प्रयोग गरी उच्च गुणस्तरको उत्पादन बजारमा पठाइरहेको उनले बताए ।
हाल बजारमा ल्याइएका विभिन्न फ्लेवरका दूधहरु उत्पादनको मितिले ६ महिनासम्म उपभोग गर्न सकिने छन् भने यी वस्तुहरु भाटभटेनी, बिगमार्ट, सेल्सबेरीजस्ता सुपरस्टोरहरुमा पनि उपलब्ध हुनेछन् ।
मार्टिन डेरीका उत्पादन बजारमा पाइने अन्य दुग्धजन्य वस्तुको तुलनामा बाक्लो र स्वादिलो हुनुका साथै उच्च गुणस्तरको रहेको कम्पनीको दावी छ । कम्पनीले भारतबाट आयातित अमूल दूधको तुलनामा आफ्नो उत्पादन गुणस्तरीय रहेको दावी गरेको छ ।
२५ हजार लिटर क्षमताको प्लान्ट जडित मार्टिन डेरीले १२० डिग्री तापक्रममा डेरी प्रडक्टहरु उत्पादन गर्दछ । ललितपुरको हरिसिद्धीमा उत्पादन प्लान्ट राखिएको डेरीबाट दैनिक १५ हजार बोटल फ्लेवर दूध उत्पादन गर्न सकिन्छ ।
विदेशबाट आयातित तयारी दूधमा भन्सार वृद्धि नगरे स्वदेशी डेरी उद्योगहरु धरासायी हुने भन्दै स्थानीय उद्योगलाई संरक्षण गर्ने नीति ल्याउन उद्योगले माग गरेको छ ।
प्रतिक्रिया