Logo

बिजनेस होम

महासंघ पूर्वअध्यक्ष भवानी राणालाई ट्युनिसियाको अवैतनिक दूतको जिम्मेवारी


GDP Nepal
   १ असार २०८०, शुक्रबार


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले नेपालका लागि ट्युनिसियाको अवैतनिक दूतको औपचारिक जिम्मेवारी सम्हालेकी छिन् ।

नेपालका लागि ट्युनिसियाका राजदूत हायात तलिबी बिलेलले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा राणालाई नियुक्ति पत्र दिएकी हुन् ।

कार्यक्रममा राणाले दुई मुलुकबीचको सम्बन्धले विश्वभर व्यापार व्यवसाय बिस्तार गर्न सकिने बताइन् । उनले दुवै मुलुकको सामाजिक, आर्थिक सुदृढिकरणसँगै दुईपक्षीय पर्यटन प्रवर्द्धनको प्रबल सम्भावना रहेको बताइन् ।

“‘हामी हजार कोस टाढा भए पनि कुटनैतिक तवरले हामी दुईपक्षीय समृद्धि बिस्तार गर्न सक्छौं। ट्युनिसिया युरोपेली मुलुकसँग जोडिएको हुँदा नेपाललाई युरोप तर्फ व्यापार बिस्तार गर्न सहज हुने देखिएको छ,” राणाले भनिन्।

योसँगै चीन र भारतकोबीचमा रहेको नेपालमा ट्युनिसियाले वैदेशिक लगानी गरेर भारत र चीनमा आफ्नो व्यापार बिस्तार गर्ने अवसर लिन सक्ने उनले बताइन्।

परराष्ट्रमन्त्री एनपी साउदले नेपाल र ट्युनिसिया दुवै मुलुक असंलग्न पररााष्ट्र नीतिको पक्षधर रहेको स्मरण् गराउँदै दुवै मुलुकले अन्तररष्ट्रिय मञ्चमा साझा धारणा राख्दै आएको बताए । उनले नेपलमा ट्युनिसियाका पर्यटकका लागि नेपाल आकर्षक गन्तव्य बन्नसक्ने धारणा राखे ।

आफू नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदा ट्युनिसिया जाने अवसर जुटे पनि अबका दिनमा पर्यटकका रुपमा ट्युनिसिया जाने रुचि भएको उल्लेख गर्दै राणाको अवैतनिक दूतमा नियुक्तिले दुई मुलुकबीचको सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा अनररी कर्प्रस काउन्सिलका डिन दिनेश श्रेष्ठले यो सम्बन्धले दुवै मुलुकको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । नेपालको ऊर्जा, कृषि, पर्यटन क्षेत्रमा लगानी अनुसारको प्रतिफल उल्लेख्य रहेको उनले जानकारी गराए ।

महासंघका पूर्व अध्यक्ष एवं दक्षिण अफ्रिकाका अवैतनिक दूत प्रदीपकुमार श्रेष्ठले १ करोड २० लाख जनसंख्या भएको ट्युनिसियामा वार्षिक ९० लाख पर्यटक भित्रिदै आएको स्मरण गर्दै यसबाट पनि नेपालले केही सिक्न सक्ने देखिएको बताए ।

दुवै मुलुकबीचको सहकार्यले दुइपक्षीय व्यवसायिक फाइदा हुने देखिएको उनको भनाइ छ।

नेपालका लागि ट्युनिसियाकी राजदूत हायात तलिबी बिलेलले यो दुईपक्षीय सम्बन्धमार्फत विभिन्न क्षेत्रमा सहकार्य गर्न सकिने बताइन्। उनले कृषि, पर्यटन, ऊर्जा लगायतमा लगानीको सम्भावना रहेको बताइन् ।

‘नेपालसँगको यो सम्बन्ध कायम गर्न पाउँदा हामी खुसी छौं। यसका लागि अवैतनिक वाणिज्य दूत भवानी राणालाई धन्यवाद दिन चाहान्छु। अझै नजिक रहेर दुई मुलुकको हितमा काम गर्न तयार छौं,’ उनले भनिन् ।

प्रकाशित : १ असार २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह