Logo

कर्पोरेट-बजार

खुकुलो मौद्रिक नीति ल्याउन निजी क्षेत्रको सुझाव


GDP नेपाल
   २२ असार २०८०, शुक्रबार


नेपाल राष्ट्र बैंकलाई खुकुलो मौद्रिक नीति ल्याउन निजी क्षेत्रले सुझाव दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सले बिहीबार संयुक्त रूपमा कार्यक्रम आयोजना गरी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष सुझाव पेस गरेका हुन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले राष्ट्र बैंकले मूल्यवृद्धिको लक्षित सीमामा २ प्रतिशतको लचकता दृष्टिगत गरी मौद्रिक नीति ल्याउनुपर्ने बताए ।

‘परिपक्वको अवधिअनुसार मुद्दती निक्षेपमा फरक ब्याजदर, मुद्दती र साधारण बचतको ५ प्रतिशत ब्याज अन्तर हटाएर भए पनि अर्थतन्त्र चलायमान बनाउनुपर्छ,’ उनले भने, ‘बैंक तथा वित्तीय संस्थाले ब्याज बढाउँदा साधारण बचतमा रहेको अधिकांश निक्षेप मुद्दतीमा परिवर्तन भएको छ । मुद्दती निक्षेप परिपक्व नभएसम्म अपेक्षा गरिएअनुसार कर्जाको ब्याजदर घट्नेवाला छैन ।’

यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न औद्योगिक वातावरणमैत्री र उत्पादनशील क्षेत्र केन्द्रित भएर निजी क्षेत्रको कर्जा विस्तारमा मौद्रिक नीतिले जोड दिन आवश्यक रहेको जनाए । श्रमिकले रोजगारी गुमाउँदै गएकाको हालको अवस्थामा मौद्रिक नीतिमार्फत अर्थतन्त्रको आशा जगाउने नीति ल्याउनुपर्नेमा समेत अग्रवालले जोड दिए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रले संयुक्त रूपमा मौद्रिक नीतिका लागि दिएको सुझावमा कर्जा विस्तारको दर लक्ष्य बढाउनुपर्ने र त्यसका लागि ब्याजदर घट्नुपर्ने माग गरे  ।

त्यस्तै, कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्रले पेस गरेका सुझाव बुझ्दै मौद्रिक नीति समग्र आर्थिक स्थायित्वको ‘म्यान्डेट’ बाहिर नजाने बताए ।

प्रकाशित : २२ असार २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह