बैकिङ प्रणालीमा तरलता बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले फेरि २० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ । बैंकले रिभर्स रिपोमार्फत मंगलबार २० अर्ब रुपैयाँ राष्ट्र बैंकको ढुकुटीमा तान्न लागेको हो ।
राष्ट्र बैंकले १४ दिने अवधिको लागि जारी गर्न लागेको यो रिभर्स रिपो साउन ९ गते परिपक्व हुनेछ । रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्नेछ । राष्ट्र बैंकले जारी गर्ने रिभर्स रिपो लिन गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरुले आज मंगलबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ मार्फत आवेदन गर्न सक्नेछन् ।
पछिल्लो समय कर्जा प्रवाह न्यून हुँदा लगानीयोग्य रकम लगातार बढ्दै गएको छ । सोही कारण तरलता सन्तुलन तरलता प्रशोचन गर्ने अवस्थामा केन्द्रीय बैंक पुगेको हो । असारमा चौथो पटक रिभर्स रिपो जारी गर्न लागेको हो । यसअघि असार १९ गते पनि राष्ट्र बैंकले रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ नै बजारबाट खिचेको थियो । जसमा बैंकहरुले माग भन्दा बढी अर्थात २८ अर्ब ८० करोड रुपैयाँ बराबरको आवेदन दिएका थिए ।
राष्ट्र बैंकको आइतबारसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुसँग कुल ५७ खर्ब १५ अर्ब निक्षेप रहेको छ । यस्तै, कर्जा निक्षेप अनुपात ८२.०३ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाले एक आपसमा सापटी लिने अन्तर बैंक ब्याजदर न्यूनतम विन्दुमा आए पछि राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेर प्रणालीबाट पुँजी खिच्ने गर्छ । आइतबारको तथ्यांक अनुसार अन्तरबैंक ब्याजदर १.३६ प्रतिशतमा झरेको छ ।
प्रतिक्रिया