आरएसडीसी लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
यसअवधिमा कम्पनीको खुद नाफा सामान्य अर्थात् ५.७१ प्रतिशतले बढेर ११ करोड १६ लाख ४५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १० करोड ५६ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी १९.२१ प्रतिशतले बढेर २८ करोड ४९ लाख ५२ हजार रुपैयाँ पुगेको छ ।
सञ्चालन नाफा पनि ५.८८ प्रतिशतले बढेर १५ करोड ९२ लाख ९४ हजार रुपैयाँ पुगेको छ । यता, चुक्ता पुँजी बढेअनुसार नाफा बढ्न नसक्दा यस कम्पनीको प्रतिसेयर आम्दानी भने सामान्य घटेको छ ।
असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २८ पैसाले घटेर १२ रुपैयाँ ८४ पैसमा आएको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी १३ रुपैयाँ १२ पैसा थियो । प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ४६ पैसा छ ।
प्रतिक्रिया