Logo

Banner-news

प्रधानमन्त्रीले तामझामका साथ उदघाटन गरेको मेची पुल सञ्चालनमै आएन


GDP Nepal
   ११ फाल्गुन २०७५, शनिबार


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गत माघ १७ गते गृहनगर झापा पुगेर तामझामका साथ निकै कार्यक्रम उदघाटन गरे । जसमध्ये एउटा थियो–मेची पुल । तर, ओलीले निकै उत्साहित भएर उदघाटन गरेको यो पुल अहिलेसम्म सञ्चालनमा आएको छैन ।

भारतीय पक्षले पुल जोड्नेतर्फ करिब चार सय मिटर सडक नबनाउँदा समस्या उत्पन्न भएको हो । भद्रपुर–५मा पर्ने मेची पुलमा अहिले हलुका सवारी र पैदलयात्रीको मात्र प्रयोग भइरहेको छ ।

मेची पुल पूर्ण सञ्चालनका लागि पुलबाट १५० मिटर पूर्वतर्फ विहार र बंगालको सीमा हुँदै भारतीय पक्षले बाटो बनाउनुपर्ने हुन्छ भने भद्रपुरको झापाचोकदेखि मेची पुलसम्म १३ सय मिटर लामो बाटो हुलाकी सडकसँग जोड्नुपर्ने हुन्छ ।

पुल जोड्ने उक्त क्षेत्रको बाटोमा आफ्नो निजी सम्पत्ति परेको भन्दै स्थानीयले मुआब्जा मागेकाले नेपालतर्फ समेत सडक विस्तारमा समस्या भएको छ । पुल पूर्ण सञ्चालनमा आउन नसक्नुले सरकारले गम्भीर रूपमा उक्त विषयलाई नलिएको स्थानीयले औल्याएका छन् ।

झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकालका अनुसार नेपाल सरकारले उक्त पुलसँग जोड्ने गरी ‘रोड कनेक्सन’ गरिदिन अनुरोध सहितको आशयपत्र दूतावासमार्फत भारत सरकारलाई बुझाउनुपर्छ । नेपाल सरकारले उक्त आशयपत्र नबुझाउँदा समस्या समाधान हुन नसकेको ढकाल बताउँछन् ।
स्थानीय संघर्ष समितिका संयोजक इन्द्रकान्त झाले झापा चोकदेखि मेचीपुलसम्म १३ सय मिटर दूरीमध्ये २ सय १० मिटर क्षेत्रका बासिन्दाले मुआब्जा पाएको तर १०९० मिटरका बासिन्दालाई मुआब्जा नदिएर विभेद गरेको बताएका छन् ।

३२ घरसहित ४८ परिवारको निजी सम्पत्ति उक्त क्षेत्रमा पर्ने बताइएको छ । पुल उदघाटनका बखत संघर्ष समितिले प्रधानमन्त्रीलाई उक्त क्षेत्रको बाटो अपग्रेडिङ गर्दा ०२१ सालको नक्सामा बाटो कायम रहेको क्षेत्रसँग जोडी घुम्ती कम पर्ने गरी सोझो बाटो बनाउन र त्यसो गर्दा क्षति र मुआब्जा कम हुने सुझावसमेत दिएको छ ।

पहल थालेको झण्डै सात दशकपछि मेची पुल निर्माणले पूर्णता पाएको छ तर पूर्ण सञ्चालन नहुँदा स्थानीयवासीसहित उद्योगी व्यवसायी निराश छन् ।

प्रकाशित : ११ फाल्गुन २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह