Logo

Banner-news

चौधरीको प्रश्नः सांसदलाई पढ्नसमेत नदिइ ऐनहरु पारित गर्नु पछाडिको नियत के हो ?


GDP Nepal
   १ चैत्र २०७५, शुक्रबार


काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीले वैदेशिक लगानी प्रवर्धन जस्ता महत्वपूर्ण कानुन निर्माणमा गम्भीर बन्न सरकार र सांसदहरुको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार संसदको उद्योग, बाणिज्य, श्रम तथा उपभोक्ता हित सम्वन्धी समितिमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्वन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि विशेषज्ञको हैसियतले धारणा राख्दै सांसद चौधरीले नेपालमा वैदेशिक लगानी बढ्न नसक्नुका कारणबारे गहिरो अध्ययन हुनुपर्ने र सोही आधारमा कानुन निर्माण गर्नुपर्ने बताए ।

‘वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन (फिटा) लगानीको क्षेत्रमा दूरगामी असर गर्ने ऐन हो । लगानीको भविष्य कोर्ने ऐनलाई पर्याप्त मात्रामा छलफल गरेर मात्रै ल्याउनुपर्छ,’ सांसद चौधरीले भने– ‘अन्यथा सरकारले सोचेको जस्तो तथा निजीक्षेत्रले चाहेको जस्तो लगानी भित्रिन सक्दैन ।’

नेपालमा विदेशी लगानी प्रवद्र्धन गर्न सकिएको छ भने त्यसको अनुभव र सकिएको छैन भने त्यसका कारण पहिल्याएर मात्रै आगामी दिशा तय हुनसक्ने विश्लेषण गर्दै सांसद चौधरीले भने– यदि हामीले हतारमा कानुन ल्याउनका लागि मात्रै कानुन बनायौं भने त्यो अर्को गल्ती हुनेछ । हामी पुरानै समस्यामा रुमलिईरहनेछौँ ।

लगानी सम्मेलन अगाडि आर्थिक क्षेत्रमा सुधारका धेरै कामहरु गर्नु राम्रो रहेको धारणा राख्दै सांसद चौधरीले यो कामलाई समयमै अगाडि बढाएको भए अहिले हतारोमा काम गर्नु पर्दैनथ्यो भने ।
सरकारले समानान्तर रुपमा ऐनहरु छलफल गराइरहेको छ । सरकारले हतार गरिरहेको छ । जति ऐनहरु आइरहेका छन्, प्रत्येक ऐनलाई समय लगाएर छलफल गर्नुपर्ने हो । तर, अहिले त्यस्तो देखिएको छैन । एकातिर सेज ऐन छलफल चलाइएको छ, अर्कोतिर सार्वजनिक–निजी–साझेदारी ऐनलाई बहसमा ल्याइएको छ । त्यसैगरी, एन्टिडम्पिङ ऐन पनि छलफल भइरहेको छ । यसरी एकै चोटि सबै ऐन ल्याउनुहुँदैनथ्यो । प्रत्येक ऐनमा खुलेर छलफल गर्न सक्ने वातावरण बनाइएको भए राम्रो हुने धारणा उनको थियो ।

लगानी सम्मेलन अगाडि सरकारले कानुनी सुधारका लागि चालेका कामहरु सकारात्मक रहे पनि यसको प्रकृयामाथि भने प्रश्न उठेको छ । सांसदहरुले एकपटक राम्रोसँग अध्ययन समेत गर्न नपाई विधेयकहरु पारित गर्नु परेको भन्दै असन्तोषका आवाजहरु बाहिरिएका छन् ।

नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी ल्याउन सरकारले लगानी सम्मेलन आयोजना गर्न लागेको हो । त्यसलाई सफल बनाउन विभिन्न आर्थिक क्षेत्रसम्बन्धी ऐन ल्याउन लागिएको हो । हामीले आउन लागेका ऐनहरुलाई सम्बद्ध ‘स्टेकहोल्डर’को गहिरो छलफलपछि मात्रै ल्याउनुपर्छ । यो हडबडमा गर्ने काम होइन । यदि हडबडमा गरियो भने देश फेरि अर्को दुघर्टनामा पर्छ । सांसद चौधरीले सचेत गराए ।

तीन वर्षअघि सम्पन्न लगानी सम्मेलको स्मरण गर्दै सांसद चौधरीले त्यतिबेला १४ खर्ब रुपैयाँबराबरको लगानी भित्र्याउने प्रतिवद्धता प्राप्त भए पनि कार्यान्वयन नभएको भन्दै यसलाई नजिरका रुपमा लिदै आगामी सम्मेलनलाई व्यवहारमै सफल बनाउनुपर्ने बताए ।

सांसद चौधरीले भारत र चीन ‘बिगेस्ट एन्ड द मस्ट भाइब्रेन्ट फ्याक्ट्रिज अफ द वल्र्ड’का रुपमा चिनिने, यि देशको उत्पादन लागत विश्वमै सबैभन्दा सस्तो रहेको पृष्ठभूमीमा नेपाली उत्पादनले यि देशका उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन रहेको वास्तविकता औंल्याए । ‘कानुन बनाउँदा कुनकुन क्षेत्रमा हामीले राम्रो गरेका छौं ? कुन कुन क्षेत्रमा हामी खस्किएका छौं ? र कि खस्किँदै छौं ? कुन क्षेत्रको उत्पादन लागत घट्दै छ र कुन क्षेत्रको बढ्दै छ ? यी सम्पूर्ण कुराको गम्भीर छलफल गरेर त्यहीअनुसार कानुन ल्याउनुपर्छ,’ उनले भने, यस्ता कुरालाई विश्लेषण नगरी कानुन ल्याउने प्रयत्न गर्यौं भने, हिजो र भोलिमा केही फरक हुन्न । अझ अधोगतितर्फ देश लाग्छ ।

प्रकाशित : १ चैत्र २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह