काठमाडौं । नेपालमा चीनको केरुङबाट रेल ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको योजना मुलुकले धान्नैनसक्ने देखिएको छ । सरकारी अध्ययनले नै केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि करीब ३५ अर्ब रुपैयाँ बराबरको खर्च लाग्ने देखिएको छ ।
यस्तै, रक्सौल–काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययनको काम भारतीय पक्षले गरेको छ । सो रेलमार्गको सम्भाव्यता अध्ययनका लागि पनि ५ देखि ७ अर्ब बराबरको बजेट आवश्यक पर्ने देखिएको छ ।
केरुङ काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययनका लागि लाग्ने यो लागत ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजना निर्माणको लागतबराबर हो । विभिन्न कारणले तामाकोसीको लागत बढे पनि प्रारम्भिक अनुमान तथा योजनाका आधारमा ३५ अर्ब अनुमान गरिएको थियो ।
रेलमार्गका विषयमा सुक्ष्म अध्ययन गरेका डा. रामेश कोइरालाले साढे ९ अर्बमा गल्छी–रसुवागढी ८३ किलोमिटरको दुई लेनको बाटो बन्ने अवस्थामा रेलमार्गको अध्ययनमै ३५ अर्ब खर्चनु उचित नभएको ट्वीट गरेका छन् । उनले विगतमा रेलमार्गको विषयमा प्रश्न गर्दा आक्रमण गर्नेहरुलाइै जवाफ दिन पनि चुनौती दिएका छन् ।
यता, रेल हेर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्षका लागि कम्तीमा पनि १७ अर्ब बराबरको बजेट आवश्यक रहेको जनाएको छ । सम्भाव्यता अध्ययनका लागि कम्तीमा दुई वर्ष लाग्ने छ ।
नेपालीसहित चिनियाँ प्राविधिक टोलीले प्रारम्भिक अध्ययन गरी रेलमार्ग निर्माणका लागि उपयुक्त रहेको प्रतिवेदन दिइसकेको अवस्थामा सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि उक्त परिमाणको रकम खर्च हुने देखिएको हो ।
प्रतिक्रिया