Logo

कर्पोरेट-बजार

जमुनाहा भन्सार नाकामा नेपालगन्ज उद्योग वाणिज्य संघको बैठक, भन्सार सुधारमा पहल


GDP नेपाल
   १६ आश्विन २०८०, मंगलबार


नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघ कार्यसमितिको बाँकेको जमुनाहा भन्सार नाकामा आकस्मिक बैठक बसेको छ ।

सोमबार ‘भन्सारमा सहजीकरण तथा सचेतना कार्यक्रम’ का क्रममा बाँकेका उद्योगी व्यवसायीले भन्सार क्षेत्रको अवलोकन भ्रमण गर्दा देखिएका कमीकमजोरी सुधार्ने पहलमा आकस्मिक बैठक डाकेको प्रवक्ता डम्बरबहादुर चन्दले बताए ।

प्रवक्ता चन्दका अनुसार संघको बैठकले सीमावर्ती रुपैडियामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले जस्तै जमुनाहा नाकामा पनि भारत प्रवेश गर्दा र भारतबाट नेपाल आउँदा सबै यात्रीहरुलाई अनिवार्य रुपमा परिचयपत्रका जाँच गर्ने व्यवस्था लागू गर्नुपर्ने माग गरेको छ ।

यसैगरी, भारतबाट किनमेल गरेर आएका यात्रीको सामान राम्ररी जाँच गरी जमुनाहा नाकाको यात्रु शाखाबाटै राजस्व संकलन गर्ने कार्यलाई प्रभावकारी बनाउनु पर्ने माग पनि गरिएको छ ।

जमुनाहा मूल नाकामा जस्तै सीमा नाकाको मुस्किलले एक किलोमिटरको दूरीमा आधा दर्जनभन्दा बढी तस्करी गर्ने नाकाहरु रहेको उल्लेख गर्दै ती सबै स्थानमा तत्काल ब्यारियर राखेर सशस्त्र प्रहरी बलको अस्थायी पोस्ट राख्नुपर्ने र सीसीटिभी जडान गरेर कडा निगरानी गर्नुपर्ने संघको माग छ ।

जमुनाहा नाकामा २०७५–०७६ सालदेखि यात्रु शाखामा राखेको स्क्यानर मेसिन बिग्रिएर थन्किएको अवस्थामा छ । सबै सामानको स्क्यान गरेर मात्र पठाउन स्क्यानर मेसिन राख्न पनि माग गरिएको छ ।

त्यसैगरी, खुला सीमा नाकाका कारण अवैध आयात निर्यात भइरहेको भन्दै सशस्त्र द्वन्द्वको समयमा बन्द गरिएका बाँकेका साइगाउँ, भनघोटना, खडैचा, उढरापुर, भगवानपुर, नरैनापुर र सुइँयाबघौडामा छोटी भन्सार सञ्चालन गर्न पनि सरकारसँग माग गरिएको छ ।

संघका अध्यक्ष टंकबहादुर धामीले जमुनाहा नाकामा देखिएका समस्याहरु तत्काल समाधान गर्न बैठकको निर्णयलाई नेपालगन्ज भन्सारका अधिकृत पदमराज पन्तमार्फत् भन्सार विभागका महानिर्देशकलाई पाँचबुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका थिए ।

उनले भने, ‘भन्सार क्षेत्रको सुधारका लागि भौतिक पूर्वाधार निर्र्माणदेखि नीतिगत र कानुनी रुपमा सुधारका लागि प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेर समस्या समाधानका लागि पहल गर्नेछौं ।’

संघको भन्सार सहजीकरण तथा सचेतना कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके, नेपालगन्ज भन्सार एजेन्ट संघलगायत विभिन्न वस्तुगत संघ संस्थाको सहभागिता थियो ।

कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्काले भन्सार क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

एक घण्टामा २६ सय जना भारत प्रस्थान

संघले मध्यान्न १२ बजेदेखि दिउँसो १ बजेसम्म भन्सार सहजीकरण तथा सचेतना कार्यक्रमअन्तरगत भारत जानेहरुको अभिलेख राखेको थियो । संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीका अनुसार एक घण्टामा एक हजार ५७२ पुरुष र एक हजार १२२ महिला गरी दुई हजार ६९४ जनाभारत प्रवेश गरेका थिए ।

त्यस भन्दा धेरै संख्यामा यात्रुहरु भारतबाट नेपाल आएका थिए । संघले भारतबाट आउने २७३ जनालाई ‘भारतीय सीमावर्ती बजारमा किनमेल सर्वेक्षण–२०८०’ प्रश्नावली भर्न लगाएको थियो ।

भारतबाट किनमेल गर्न आउने अधिकांशले चिनी, चामल, पिठो, मैदा, सुटका कपडा, तरकारी, मसलाजन्य खाद्यवस्तुलगायतका दुई दर्जनभन्दा बढी प्रकारका सामान खरिद गरेको पाइएको थियो ।

एक जनाले कम्तीमा ३ सय ४० रुपैयाँको पाँचकिलो चिनीदेखि पाँचहजार रुपैयाँभन्दा बढीको सामान खरिद गरेको सर्वेक्षणका क्रममा जानकारी दिएका थिए । एउटै ब्यक्तिले ठूलो परिणाममा चिनी र चामल ओसारेको पाइएको थियो ।

संंघले कार्यक्रम सञ्चालन गर्दैगर्दा सोमबार दिउँसो २ बजेसम्म भन्सार कर्मचारीले एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउने ३ सय १४ जनालाई राजस्व तिर्न लगाएको थियो । जसबाट यो अवधिमामात्र एक लाख ६४ हजार रुपैयाँको राजस्व संकलन भएको थियो । जुन अघिल्ला दिनमा हुने राजस्व संकलनभन्दा निकै धेरै हो । अघिल्लो दिन दिनभरि गरी ५ सय ८६ जनाले राजस्व तिरेका थिए । त्यससबाट तीनलाख एक हजार ५६७ रुपैयाँको राजस्व संकलन भएको थियो ।

प्रकाशित : १६ आश्विन २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह