Logo

Banner-news

लगानी सम्मेलनका पाहुनालाई भृकुटीमण्डपको अन्तर्राष्ट्रिय व्यापार मेलामा लगिने


GDP Nepal
   १२ चैत्र २०७५, मंगलबार


काठमाडौं । लगानी सम्मेलनमा आउने विदेशी पाहुनालाई भृकुटीमण्डपमा बिहीबारदेखि सुरु हुने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (एनआईटीएफ) भ्रमणमा लगिने भएको छ । मेलाको आयोजक नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणाले लगानी सम्मेलनका अतिथिहरुलाई मेला अवलोकनका लागि आग्रह गरिने बताइन् ।

राणा नेपाल लगानी सम्मेलनको आयोजक लगानी बोर्डकी सदस्य पनि हुन् । एनआईटीएफको तयारीबारे जानकारी दिन मंगलबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष राणाले भनिन्– मेला चलिरहेका बेला नेपाल लगानी सम्मेलनसमेत हुने भएकाले मेलाको महत्व अझ बढ्न गएको छ र सम्मेलनमा सहभागी हुन आउने विदेशी पाहुनाहरूलाई समेत मेला अवलोकनका लागि प्रयास गरिनेछ ।

पत्रकार सम्मेलनमा अध्यक्ष राणालगायत ।

मेलाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ । मेलाको सम्पूर्ण तयारी सकिएको महासंघद्वारा मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

महासंघले नेपाल सरकार÷वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह—आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा मेला आयोजना गर्दै आएको छ । एनआईटीएफ सार्वजनिक निजी साझेदारीको रूपमा स्थापित भैसकेको उल्लेख गर्दै महासंघ अध्यक्ष राणाले नेपाली वस्तुहरूको उत्पादन प्रवद्र्धन, आयात प्रतिस्थापन, निर्यात वृद्धि गर्नुनै मेला आयोजनाको मुख्य उद्देश्य रहेको जानकारी गराइन् ।

महोत्सव आयोजनाका क्रममा अन्तर्राष्ट्रियस्तरीय प्रदर्शनीस्थलको अभाव बेहोर्नुपरेको राणाको भनाइ छ । प्रदर्शनीस्थल निर्माणमा सरकारको तदारुकता जरुरी रहेको उनले बताइन् ।

महासंघको व्यापार मेला समितिका सभापति दिलसुन्दर श्रेष्ठका अनुसार चैत १८ गतेसम्म चल्ने मेलामा चीनबाट ९० वटा, भारतबाट १० वटा, बंगलादेशबाट ४० वटा स्टल रहने छन् भने सबैभन्दा बढी नेपाली स्टल रहने छन् ।

कुल २२५ भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ । मेलामा भारत, चीन, बंगलादेश पाकिस्तानलगायतका देशहरूको सहभागिता रहनेछ ।
मेलाकै क्रममा चैत १५ गते चीनबाट आएको व्यावसायिक प्रतिनिधिमण्डलसँग महासंघद्वारा काठमाडौंमा बृहत् अन्तरक्रिया, व्यावसायिक वार्ता तथा संयुक्त लगानीका लागि सहमतिपत्रमा हस्ताक्षरसमेत गर्ने कार्यक्रम रहेको जानकारी गराइयो ।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादनहरू, एनटीआईएस प्रोडक्टहरू रहने छन् । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्यसमेत छ । मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माणसम्बन्धी, शिक्षा, आदिका छुट्टाछुट्टै स्टलहरू रहने छन् ।

मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यावसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रूपमा हेरिएको छ । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानी बारे छलफलसमेत हुने छ । यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब १ लाख अवलोकनकर्ताहरूले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित : १२ चैत्र २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह