काठमाडौं । हास्य टेलिसिरियल ‘सक्किगोनि’को प्रशारण बन्द भएको छ । ‘सक्किगोनि’का कलाकार एवं निर्देशक अर्जुन घिमिरे (पाँडे)ले ‘सक्किगोनि’ टेलिसिरियलको तेस्रो सिजन सकिएको घोषणा गर्दै चौथो सिजनमा छिट्टै भेट्ने वाचा गरेका छन् ।
सक्किगोनि एक्कासी बन्द हुनुलाई सामान्य रुपमा लिन नसकिने जानकारहरु बताउँछन् ।
निरन्तर चलिरहेको र दर्शकबाट अपेक्षित माया पाइरहेको टेलिसिरियल पूर्वसूचना बिना नै बन्द हुनुमा यस सिरियलको निर्माण पक्ष जेपिटी क्रियसनले निर्माण गरेको चलचित्र लाज शरणम अपेक्षित रुपमा चल्न नसक्नुलाई मुख्य कारणका रुपमा रहेको छ ।
यसबाहेक, ‘सक्किगोनि’का कलाकार बले उर्फ सागर लम्सालविरुद्ध हालै साइबर ब्युरोमा परेको उजुरीका कारण सिरियलकै शाख गिर्नसक्ने देखिएपछि निर्माण पक्षले हतारमा सिरियल बन्द गरेको बताइएको छ ।
कुनै पनि सिरियल ५० वा सय भाग पूरा गरेर पूर्वसूचना दिएरै बन्द गरिन्छ तर सक्किगोनी भने ९३ भागमै बन्द गरिएको छ ।
“निकै आशा गरिएको फिल्ममा घाटाको व्यापार र सक्किगोनीका कलाकारविरुद्धको उजुरीलाई लिएर पीडित पक्षप्रति महिला अधिकारकर्मीको ठूलो साथ सहयोग देखिएकाले सिरियल बन्दको निर्णय भएको हुनुपर्छ,” निकट स्रोतले भन्यो ।
यद्यपि, कलाकार घिमिरेले भने तेस्रो सिजनका ९३ श्रृंखला उत्पादन, प्रसारणपछि परिष्कृत सिर्जनाको तयारीका लागि हामी केही समय विश्राम लिँदै गरेको सामाजिक सञ्जालमा लेखेका छन् ।
“यसबाट प्राप्त गरेको ज्ञान, सिप र अनुभवलाई विवेकसम्मत प्रयोग गरेर थप उत्कृष्टताका साथ हामी चाँडै नै ’चौथो’ सिजन लिएर आउने प्रतिवद्धता प्रकट गर्दछौँ,” उनले भनेका छन् ।
कलाकारितामा लोकप्रिय रहेका घिमिरे काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका विश्वासपात्र पनि हुन् । उनी हालैमात्र बालेनसँगै होली मनाउन रुपन्देहीको तिलोत्तमास्थित एक रिसोर्टमा पुग्ने कोर टिमका सदस्य हुन् । जसमा बालेन दम्पत्तिसहित घिमिरे, भिक्टर पौडेल, कुमार व्यञ्जनकार, केपी खनाललगायत रहेका थिए ।
बालेन आफैंले लाज शरणमको प्रचारका लागि गीत गाए पनि उक्त गीतमात्र हिट भयो, फिल्म भने लगानीसमेत उठाउन अब विदेशमा हुने शोमा भर पर्नुपर्ने स्थितिमा पुगेको छ ।
प्रतिक्रिया