Logo

अर्थनीति

वाणिज्य सचिवको जिम्मेवारी नारायण दुवाडीलाई


GDP नेपाल
   २६ कार्तिक २०८०, आइतबार


सरकारले रिक्त रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवको जिम्मेवारी नारायणप्रसाद दुवाडीलाई दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव दुवाडीलाई सरुवा गरेर मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो ।

वाणिज्य सचिव मधुकुमार मरासिनी निलम्बनमा परेसँगै वाणिज्य सचिवको पद एक महिनादेखि रिक्त रहेको थियो । नेशनल गेटवे पेमेन्ट प्रकरणमा मरासिनीसहित नौ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते मुद्धा दायर गरेसँगै मरासिनी निलम्बनमा परेका थिए ।

२०७९ भदौ ६ गते सहसचिवबाट सचिवमा बढुवा भएका दुवाडी एक वर्ष भन्दा बढी समयदेखि सुदूरपश्चिम प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा थिए । सचिवमा बढुवा भएसँगै उनलाई सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुख सचिवका रुपमा खटाइएको थियो । यसैगरी वरिष्ठ सहसचिव डा. हरिप्रसाद लम्साललाई सुदूरपश्चिम प्रदेश सरकारको कायममुकायम प्रदेश प्रमुख सचिवको जिम्मेवारी दिएर पठाइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत डा।लम्साल सचिव बढुवा सिफारिस सूची भित्र परिसकेका छन् । प्रशासनतर्फ रिक्त एक सचिवका लागि सिफारिस गरिएका तीन वरिष्ठ सहसचिवमध्ये तेस्रो नम्बरमा डा।लम्सालको नाम सिफारिस गरिएको थियो ।

उक्त लटमा पहिलो नम्बरमा सिफारिस भएका राधिका अर्याल सचिवमा बढुवा भइसकेकी छन् भने दोस्रो नम्बरमा सिफारिस भएका सहसचिव चूडामणि पौडेल कर्णाली प्रदेशको कायम मुकायम प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा छन् ।

अब सचिव बढुवाका लागि हुने सिफारिसमा पौडेल पहिलो नम्बरमा हुनेछन् भने लम्साल दोस्रो नम्बरमा सिफारिस हुनेछन् ।

प्रकाशित : २६ कार्तिक २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह