Logo

विकास / पूर्वाधार

दोधारा चाँदनी सुख्खा बन्दरगाहको डिपिआर तयार


GDP नेपाल
   ६ मंसिर २०८०, बुधबार


कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल इन्टर मोडल यातायात विकास समितिका इञ्जिनीयर अनिश केसीले भारत सरकारले सुख्खा बन्दरगाह निर्माणका लागि डिपिआर तयार गरेर पठाएको जानकारी दिनुभयो । 

उहाँका अनुसार सुख्खा बन्दरगाह निमार्णका लागि रु पाँच अर्ब ७५ करोड लागत अनुमान गरिएको छ । सुख्खा बन्दरगाह भारतको पूर्णलगानीमा बन्ने उहाँले बताउनुभयो । 

“सुख्खा बन्दरगाह निर्माण गर्न भारतले डिपिआर तयार गरेर पठाएको छ ।” इन्ञ्जिनीयर केसीले भन्नुभयो,“सन् २०२४ देखि सुरु भई सन् २०२६ सम्म निर्माण सक्ने डिपिआरमा उल्लेख गरिएको छ । बन्दरगाह निमार्णका लागि दोधारा चाँदनी नगरपालिकास्थित मायापुरी र गौरीशङ्कर सामुदायिक वनको करिब दुई सय ८० बिघा जमिन प्रयोग हुनेछ ।”

सुख्खा बन्दरगाहमा दुईवटा गोदाम, भन्सार जाँच, क्वारेन्टाइन, इमिग्रेसन र सुरक्षा भवनलगायत अन्य पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । भारतले एसियन राजमार्गसँग जोड्न पहुँच मार्ग निर्माणको काम सुरु गरिसकेको छ ।  सुख्खा बन्दरगाह निर्माण हुने स्थलमा रुख कटानका लागि वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० स्वीकृति भइसकेको छ ।“दस÷पन्ध्र दिनभित्रै प्रतिवेदन मन्त्रालयमा पेस हुन्छ ।” इञ्जिनीयर केसीले भन्नुभयो–“मन्त्रिपरिषद्ले रुख कटान गर्ने निर्णय गरेपछि निमार्णकार्य अघि बढ्नेछ ।” बन्दरगाह क्षेत्रमा एक हजार नौ सय ८९ रुख कटान गर्नुपर्ने हुन्छ । 

विसं २०६४ मा पहिलो पटक सरकारले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गर्ने प्रस्ताव गरेको थियो । त्यसपछि पटक–पटक अध्ययनका लागि टोली आए पनि काम अगाडि बढ्न सकेको थिएन । सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिममी नाका सञ्चालनमा आए सम्भावनाको ढोका खुल्ने नेपाल उद्योग वाणिज्य महासङ्घका महानिर्देशक गोकर्ण अवस्थीले बताउनुभयो । “यो नाका चालु भए नेपाल भारतबीच सहज आवागमन हुने र लामो दूरीबाट आवतजावत गर्नुपर्ने बाध्यता हट्छ ।” उहाँले भन्नुभयो,“यहाँ औद्योगिक र कृषि क्षेत्रको विकास गर्न सके यसले भारतको उत्तर प्रदेश र उत्तराखण्डमा बजार पाउँछ । दोधारा र चाँदनीमा सुख्खा बन्दरगाह स्थापनापछि छिमेकी मुलुक भारतमा रहेका उद्योगका शाखा नेपालमा खुल्न सक्ने र यहाँबाट उत्पादन गर्न सक्ने सम्भावना रहेको छ ।बन्दरगाहको काम सुरु भइसकेको छ, अब हामीले त्यहाँबाट आयात मात्रै गर्ने की निर्यात पनि गर्ने यसको पूर्वतयारीमा लाग्न जरुरी छ ।” 

यहाँका उत्पादन निर्यात गर्ने गरी सुदूरपश्चिम प्रदेश सरकारले योजना बनाउन जरुरी रहेको उहाँको भनाइ थियो । यस पटक सरकारले सुख्खा बन्दरगाह निर्माण गर्नेमा यहाँका व्यवसायी आशावादी छन् । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले सुख्खा बन्दरगाह निर्माण भए सुदूरपश्चिममा हुने व्यापारको लागत र समय दुवै घट्ने बताउनुभयो ।“अहिले लामोबाटो प्रयोग गरेर यहाँ सामान ल्याउनुपर्ने बाध्यता छ ।” उहाँले भन्नुभयो, “यो नाकाबाट भारतका औद्योगिक क्षेत्र छोटो दूरीमा रहेकाले यहाँको व्यापारको लागत र समय घटाउछ ।” यो नाका सञ्चालनमा आए सुदूरपश्चिमको व्यापार फस्टाउने अपेक्षा गरिएको छ ।

प्रकाशित : ६ मंसिर २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह