काठमाडौं । नेपालमा वैदेशिक लगानीका लागि आह्वान गर्दै शुक्रबारदेखि सुरु भएको लगानी सम्मेलनको उदघाटन शत्र नेपालका बहुपक्षीय विकास साझेदारहरुको सम्मेलनजस्तै देखिएको छ ।
दुईदिने लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे । उदघाटन मन्तव्यमा उनले नेपालको राजनीतिक आर्थिक तथा सामाजित्र अवस्थाको चित्रण गर्दै लगानीको वातवरण बनाउन सरकारले गरिरहेको प्रयाशका विषयमा प्रष्ट पार्ने प्रयास पनि गरे । उनीअघि बोलेका अर्थमन्त्री डा. युवराज खतिवडाले पनि नेपालमा किन लगानी गर्ने भनेर सहभागीहरुलाई प्रष्ट्याउने प्रयास गरेका थिए ।
तर, विदेशी लगानीका लागि गरिएको लगानी सम्मेलनको लामो उदघाटन शत्रमा निजी लगानीकर्तालाई पनि स्पेस दिइएन । सम्मेलनमा निजी क्षेत्रका भने मुथुत ग्रुपका चेयरमेन जर्ज मुथुत ग्रुपले मात्र सम्बोधनको मौका पाए ।
नेपालमा सबैभन्दा बढी एफडीआई भित्र्याइरहेको होङ्सी सिमेन्टदेखि जलविद्युतमा ठूलो लगानी ल्याइरहेको सतलजजस्ता कम्पनीमार्फत विदेशी लगानीकर्तालाई आश्वस्त पार्ने अवसर रहे पनि सरकार त्यसमा चुकेको देखियो ।
लगानी सम्मेलनको उदघाटन शत्रमा प्रधानमन्त्री ओली र अर्थमन्त्री खतिवडासहित म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन लगायत, एआईआईबीका उपाध्यक्षलगायतले सम्बोधन गरे । नेपालको विकासमा सँधै साथ दिइरहेका बहुपक्षीय विकास साझेदारलाई नै उदघाटन समारोहको मञ्च दिएर सरकारले कस्तो वैदेशिक लगानी भित्र्याउन चाहेको हो भन्नेमा लगानीकर्ता नै अन्योलमा परेका छन् ।
सम्मेलनमा सरकारले विदेशी लगानीकर्ता सामु ७७ परियोजना प्रस्तुत गर्दैछ । साढे ३२ अर्ब रुपैयाँ लागत रहेका सरकारी ५० र निजी क्षेत्रका २७ परियोजना सरकारले लगानीका लागि शोकेसको रुपमा प्रस्तुत गर्न लागेको हो ।
सम्मेलनमा ४० देशका ६ सय ५० विदेशी लगानीकर्तासहित १ हजारभन्दा बढी सहभागी छन् भने एक दर्जनभन्दा बढी परियोजनाहरूको समझदारी र समझदारी गर्ने तयारी लगानी बोर्डले गरेको छ ।
सम्मेलनमा विश्व बैंक अन्तरगतको वहुपक्षीय लगानी प्रत्याभूतिसम्बन्धी निकाय मिगाका उपाध्यक्ष तथा प्रमुख कार्यकारी केईको होण्डा, अन्तर्राष्ट्रिय वित्त निगमका आर्थिक तथा निजी क्षेत्र विकाससम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस, एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसंचालन सम्बन्धी उपाध्यक्ष डोङ ली लगायत सहभागी छन् ।
माईक्रोसफ्ट, अमेजन, पावर चाईना, चाईना रेलवे, डाबर, यूनिलिभर लगायतका विश्व प्रसिद्ध कम्पनीका प्रतिनिधिहरू पनि सम्मेलनमा छन् ।
प्रतिक्रिया