काठमाडौं । सोमबार राजधानीको र्याडिसन होटलमा नेपाल उद्योग परिसंघ (सीएनआई)को १६ औं वार्षिक साधारणसभा थियो । सभाका प्रमुख अतिथि थिए प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडा ।
अतिथिका रुपमा बोलाइएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव कार्यक्रममा गएनन् भने कार्यक्रमका सहभागीमाझ सदा झैं आकर्षको केन्द्रमा थिए– विनोद चौधरी ।
त्यसो त चौधरी सीएनआईका परिकल्पनाकारमात्र नभइ करिब १ दशक यसलाई नेतृत्व गरिसकेका र हालका प्रेसिडेन्ट इमिरेट्स पनि हुन् । सीएनआईले १६ औं साधारणसभा आयोजना गरिरहे पनि चौधरीका अनुसार यसको दर्ता प्रक्रियाको झन्झट तथा अवरोधका कारण तीन वर्ष त्यत्तिकै खेर गएका थिए । उद्योग वाणिज्य महासंघको नेतृत्वको अवरोधका कारण सीएनआई जन्माउँदा ठूलो विवाद भएको थियो ।
सोमबारको साधारणसभामा सीएनआईको भूमिकाको प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्मले मुक्तकण्ठले प्रशंशा गरे । प्रधानमन्त्री केपी ओलीले आर्थिक विकासको नेतृत्व लिन आग्रह गरे भने अर्थमन्त्री युवराज खतिवडाले सरकार र निजी क्षेत्रबीचको समन्वायत्मक वातावरण निर्माणमा सीएनआईको भूमिका उल्लेखनीय रहेको टिप्पणी गरे ।
तर, सीएनआईको साधारणसभामा प्रधानमन्त्री ओली र उद्योगपति चौधरीबीच कटाक्ष देखियो । प्रधानमन्त्रीभन्दा पहिले नै सम्बोधन गरेका चौधरीले २०४८ सालमा नेपालले लिएको नयाँ आर्थिक नीति नै पोलिसी डिपार्चर रहेको र त्यसपछिका कुनै पनि सरकार त्यसबाट पछाडि हट्न नसकेको बताएका थिए ।
चौधरी दुईतिहाईको ओली सरकारको संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदसमेत हुन् । उनले संसदमा पनि आर्थिक मुद्दामा ओली सरकारको आलोचना गरिरहेका हुन्छन् ।
सोमबारको कार्यक्रममा उनले भने– नेपालको आर्थिक विकासको बारेमा छलफल गरिरहँदा हामीले २०४८ साललाई महत्वपूर्ण ‘कोशेढुंगा’का रुपमा स्मरण गर्नुपर्छ । त्यतिबेला हामीले महत्वपूर्ण ‘पोलिसि डिपाचर’ लिएका हौं । हामी त्यो नीतिबाट कहिल्यै पछाडि फर्किनु परेन । देश द्वन्दमा गयो । शान्ति प्रक्रियामा आयो । द्वन्द्वरत पक्षहरू राजनीतिको मूल प्रवाहमा आए । नयाँ संविधान बन्यो । तर, आर्थिक नीतिका मामिलामा त्यसबेला लिइएको नीतिमा कहिल्यै परिवर्तन गर्नु आवश्यक भएन । अर्थात, हामीले एउटा दूरदर्शी आर्थिक नीतिलाई कार्यान्वयनमा ल्याएका थियौं ।
सुखी नेपाली, समृद्ध नेपाल निर्माणका लागि आफूलाई भिजनरी नेताको रुपमा प्रस्तुत गरिरहेका प्रधानमन्त्री ओलीलाई यो सह्य भएन । उनले चौधरीप्रति कटाक्ष गर्दै भने– जनतासँग उठाएको मूल्य अभिवृद्धि कर सरकारलाई नबुझाउने, नक्कली भ्याटबिलको किनबेच गर्ने तथा अपारदर्शी व्यवसाय गर्नेबाहेक सबैखाले व्यवसायलाई साथ दिन सरकार तयार छ ।
प्रधानमन्त्री यतिमै रोकिएनन् । उनले चिनीमा भएको जालझेलको उदाहरण प्रस्तुत गर्दै आफूलाई गुमराहमा राखेर चिनी उद्योगीले दशैंका बेला कालोबजारी गरेको धारणा राखे ।
प्रधानमन्त्रीले क्यानडा, रसियामा आँप सप्लाई गर्ने तथा गर्मी ठाउँमा स्याउ र जाडो ठाउँमा बटरफ्लाई सप्लाई गर्ने भन्दै आफूलाई भिजनरी नेताका रुपमा प्रस्तुत गरिरहँदा चौधरीले भने नेपालको विकास प्रणालीमा नीतिको नभै नैतिकताको खडेरी रहेको धारणा राखेका थिए । आफ्नो जिम्मेवारी क्षेत्रको काम फत्ते गरेर नतिजा देखाउँ भन्ने भोकको अभाव रहेको पनि उनको भनाइ छ ।
कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले पनि चौधरीप्रति कटाक्ष गरे । चौधरीले १५ औं योजनाका लक्ष्यहरु पूरा गर्न कठिन रहेको औंल्याउँदा उनले अरु देशले पूरा गरेका लक्ष्य हामी गर्न किन सक्दैनौं भनेर प्रतिप्रश्न गरे ।
चौधरी र प्रधानमन्त्रीबीच दुई वर्षयता सम्बन्ध सुमधुर छैन । पहिलो संविधानसभामा एमालेबाटै सभासद भएका चौधरीलाई दोस्रो संविधानसभामा एमालेले दोहो¥याएन । गत वर्षको प्रतिनिधिसभा निर्वाचनमा भने चौधरी कांग्रेसको प्रचारमा देशभर हिँडेका थिए ।
चौधरी कांग्रेस भएकै कारण उनका छोरा निर्वाण चौधरीले अघि बढाएको सिजी टेलिकमले सम्पूर्ण प्रक्रिया पूरा गरिसक्दा पनि लाइसेन्स पाएको छैन । जसमा लगानीका लागि सञ्चार, उद्योग र अर्थमन्त्रीकै अगाडि विदेशी कम्पनीसँग पटकपटक सम्झौता भने भइसकेको छ ।
यसैबीच, सीएनआईले सतिशकुमार मोरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
प्रतिक्रिया