Logo

विकास / पूर्वाधार

पर्वतका ग्रामीण सडकमा मोटरेबल पुल बन्दै


GDP नेपाल
   १३ फाल्गुन २०८०, आइतबार


पर्वत । पर्वतका ग्रामीण सडकमा चालू आर्थिक वर्षमा चारवटा मोटरेबल पुल निर्माण हुने भएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा रहेका सडकलाई बाह्रैमहिना सञ्चालन गर्ने उद्देश्यले खोलामा मोटरेबल पुल निर्माण गर्न थालिएको हो । 

पूर्वाधार विकास कार्यालय पर्वतका अनुसार मोदी गाउँपालिकाको लिदि खोला, पैँंयू गाउँ गाउँपालिकाको सरौ र भोर्लेखोला तथा कुश्मा र फलेवास नगरपालिकाको सिमानामा पर्ने मल्र्याङ्दीखोलामा मोटरेबल पुल निर्माण गरिने भएको हो । चार पुलमध्ये मोदी–६ र ८ को सिमानामा रहेको लिदिखोलामा १६ मिटर लामो पुल निर्माण धमाधम भइरहेको पूर्वाधार कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार डिमुवा–राम्जा सडक खण्डमा पर्ने उक्त पुलको करिब ४० प्रतिशत निर्माण सकिएको छ । प्रमुख अधिकारीले रु दुई करोड ५३ लाखको लागतमा निर्माण हुन लागेको बताउनुभयो । 

यो पुल निर्माणपछि मोदी–७ राम्जा, वडा नं ८ चित्रे र कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कका बासिन्दा लाभान्वित हुने छन् ।

त्यस्तै, दक्षिण पर्वतको पैँयू गाउँपालिकामा पर्ने सरौ–बालाकोट सडक खण्डअन्तर्गत छत्तिसेघाट मोटरेबल पुलको निर्माण पनि तीव्र गतिमा भइरहेको पूर्वाधार कार्यालय पर्वतले जनाएको छ । करिब २५ मिटर लामो उक्त पुलको २० प्रतिशत भन्दाबढी काम सम्पन्न भइसकेको प्रमुख अधिकारीले जानकारी दिनुभयो । रु चार करोड ४३ लाखमा उक्त पुल निर्माण भइरहेको छ ।

वर्षायाममा सरौखोलामा आउने ठूलो बाढीका कारण पैंँयू गाउँपलिकाको सरौखोला र महाशिला गाउँपालिकाको होश्राङदी, भोसक्सिङ र बालाकोटका नागरिकले समस्या भोग्दै आएका थिए । पुल निर्माणपछि बाह्रैमहिना सहज रुपमा सडक सञ्चालन हुने विश्वास बढेको थानीय खगेन्द्र तिवारीले बताउनुभयो ।

कुश्मा–१० पीपलटारी र फलेवास–३ शङ्करपोखरी जोड्नेगरी मल्याङदीखोलामाथि मोटरेबल पुल निर्माणको प्रक्रिया अघि बढेको छ । पुल निर्माणका लागि बोलपत्र आह्वान भइसकेको कार्यालयले जनाएको छ । करिब १६ मिटर लामो यो पुल झण्डै रु चार करोडको लागतमा बन्नेछ । 

बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुने उक्त पुल दुई वर्षभित्र सम्पन्न हुने अधिकारीले बताउनुभयो । यो पुलका लागि चालू आवमा रु ७५ लाख विनियोजन भएको छ । यसैगरी दक्षिण पर्वतको पैँयू गाउँपालिका–७ स्थित भोर्ले खोला पनि मोटरेबल पुलको निर्माण प्रक्रिया अघि बढेको छ । बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुने यो पुलका लागि चालू आवमा रु ३० लाख विनियोजन भएको छ । यसै वर्ष बोलपत्र आह्वान प्रक्रिया पूरा गरी सम्झौता गरिने भन्दै आगामी वर्षको बजेटबाट पुल निर्माण सुरु हुने कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार चारवटै मोटरेबल पुलको निर्माण अवधि दुई वर्षको रहेको छ । 

आगामी दुई वर्षभित्र चारवटै पुल निर्माण सम्पन्न हुने छन् । निर्माणाधीन लिदिखोला र छत्तिसेघाट मोटरेबल पुल चालू आवमै सम्पन्न हुने उहाँको भनाइ छ । बजेटको सुनिश्चितता भएपछि बाँकी दुई पुल निर्माण थालिे प्रमुख अधिकारीले बताउनुभयो । मोटरेबल पुल निर्माणपछि बर्खायाममा ठप्प जस्तै हुने ती सडक सञ्चालन हुने भन्दै स्थानीय खुसी भएका छन् । 

प्रकाशित : १३ फाल्गुन २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह