Logo

बिजनेस होम

निकले स्नाइडर इलेक्ट्रिकसँगको सहकार्यमा ‘प्याकेज सबस्टेसन’ उत्पादन गर्ने


gdpnepal
   २३ बैशाख २०८१, आइतबार


काठमाडौँ । नेपाल एकरात इन्जिनियरिङ कम्पनी प्रालि (निक) ले मुलुकमै पहिलो पटक ‘प्याकेज सबस्टेसन’ उत्पादन गर्ने भएको छ ।

कम्पनीले भारतको स्नाइडर इलेक्ट्रिक कम्पनीबाट अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरी नेपालमा उत्पादन गर्न लागेको हो । यस्तो सबस्टेसन उत्पादनको अनुमतिपत्र पाएको अवसरमा निकले बिहीबार एक कार्यक्रम गरी त्यसको जानकारी गराएको थियो ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा गुणस्तरीय ट्रान्सफर्मर उत्पादन गरी विदेशमा समेत निर्यात गर्दै आएको निकले मुलुकको आवश्यकताअनुसार नयाँ प्रविधि भित्र्याएको भन्दै प्रशंशा गरे ।

विद्युत् वितरणका क्षेत्रमा निकले देशमा भित्र्याएको यो नयाँ प्रकारको प्रविधि हो । आगामी दिनमा प्राधिकरणले आफ्ना सबस्टेसनलाई यही प्रविधिमा सुधार तथा स्तरोन्नति गर्दै लैजान सक्ने र विद्युत् आपूर्तिका क्षेत्रमा विश्वसनीय उपलब्धि हुने विश्वास गरिएको छ ।

कार्यक्रममा निकका प्रबन्ध निर्देशक कुशकुमार जोशीले विद्युतीकरण तथा प्रविधि आयात एवम् प्रयोगमा कम्पनीले नयाँ सुरुवात गरेको बताए । उनका अनुसार यस्तो सबस्टेसन औद्योगिक क्षेत्र, सिँचाइ, खानेपानी, कर्पोरेट अफिस, टेलिकम लगायतमा बढी उपयोगी हुनेछ ।

यसबाट विद्युतीय दुर्घटना कम हुनुका साथै प्राविधिक चुहावट पनि कम्ती हुने उनको भनाइ छ ।

निकले स्नाइडरबाट अनुमति लिएको हुँदा सबस्टेसन उत्पादन गर्दा त्यसको मापदण्ड, गुणस्तर र आकार–प्रकारमा समेत ध्यान दिनुपर्ने छ । यदि, उसको मापदण्डभन्दा फरक वा कम गुणस्तरको उत्पादन गरेमा भारतीय कम्पनीले अनुमतिपत्र फिर्ता लिने सक्ने छ । यसकारण पनि उक्त सबस्टेसन उत्पादनका क्रममा निकले आफूलाई थप निपुण बनाउनुपर्ने चुनौती थपिएको छ ।

यस्तो सबस्टेसन बिग्रिएमा दक्ष इन्जिनियरको खाँचो नपर्ने र सामान्य प्राविधिकले समेत मर्मत गर्न सक्ने जनाइएको छ । बाहिरी अनावश्यक विद्युतीय तरंग तथा प्राकृतिक विपद्बाट यस्तो सबस्टेसन बढी सुरक्षित हुने पनि बताइएको छ । निकका अनुसार विद्युत् प्रणाली प्रभावकारी रूपमा सञ्चालन तथा विद्युत् प्रवाह गर्ने उद्देश्यले यो सबस्टेसनले निकै महत्त्वपूर्ण भूमिका खेल्ने छ । उसले सुरुमा ११ केभीसम्मको प्याकेज सबस्टेसन उत्पादन गर्ने जनाएको छ ।

ठूलो परिमाण ट्रान्सफर्मर उत्पादक एकमात्र कम्पनी निकद्वारा उत्पादित ट्रान्सफर्मर नेपालसँगै भुटान र बंगलादेशमा समेत निर्यात हुँदै आएका छन् ।

के हो प्याकेज सबस्टेसन ?

‘एसेम्बल’ र ‘ब्राण्ड’ कम्प्युटरको उदाहरणको आधारमा यो सबस्टेसनलाई बुझ्न सकिन्छ । मानौं, एसेम्बल कम्प्युटरमा विभिन्न कम्पनीका सामान जोडिएर सिंगो ढिक्का बनाइन्छ भने ब्राण्डमा एउटै ढिक्का हुन्छ । त्यस्तै, प्याकेज सबस्टेसन पनि अरूजस्तो विभिन्न प्रकारका सामान जडान गरेर नभई एउटै ढिक्कामा उत्पादन हुन्छ । प्राधिकरणले भविष्यमा विस्तार गर्ने साना–साना सबस्टेसन तथा उद्योग, कलकारखानामा यस खालको ‘ढिक्के सबस्ेटसन’ले पुरानो प्रविधिलाई विस्थापित तथा स्तरोन्नति गर्न सक्छ ।

विद्युत् उत्पादन, प्रसारण र वितरणको क्षेत्रमा दशकौंदेखि सरकारको एकाधिकार प्राप्त संस्था प्राधिकरणले समेत भित्र्याउन नसकेको नयाँ प्रविधि आयातमा निकले अग्रसरता लिएको छ । यसबाट प्रस्ट हुन्छ, नवीन प्रविधि आविष्कार, विकास र विस्तार निजी क्षेत्र चनाखो र अग्रसर हुने गर्छ ।

मुख्यतः सन् १९३४ मा फ्रान्समा स्थापना भएको स्नाइडर कम्पनी नयाँ प्रविधि आविष्कार र विस्तारमा विश्वभरि नै लोकप्रिय छ । अहिले यसले आफ्नो सेवा संसारभरि फिँजाएको छ ।

प्रकाशित : २३ बैशाख २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह