काठमाडौं, । पर्यटन क्षेत्रको अग्रणी संस्था होटल संघ नेपाल (हान)ले सरकारद्वारा बुधबार संसदमा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को बजेटले नेपाल भ्रमण वर्ष सफल बनाउन कुनै कार्यक्रम नल्याइएको भन्दै आलोचना गरेको छ ।
हानले बिहीबार विज्ञप्ति जारी गर्दै भ्रमण वर्षलाई उपलब्धिमूलक बनाउन दूरगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व र प्रभाव राख्ने अपेक्षित कार्यक्रम तथा बजेट दिन नसकेको जनाएको छ ।
“नेपाल भ्रमण वर्ष–२०२० प्रारम्भ हुने आगामी आर्थिक वर्षको बजेटले पर्यटनलाई उच्च आर्थिक वृद्धि, उत्पादन, रोजगारी र आय बढाउने प्रमुख आधारका रूपमा प्रस्तुत गरे पनि स्वयं पर्यटन वर्ष उपलब्धिमूलक बनाउन दूरगामी कार्यक्रम आउन सकेन,” विज्ञप्तिमा भनिएको छ ।
उत्पादनमूलक, लगानीमैत्री, आयात घटाई निर्यात बढाउने लक्ष्य लिएको बजेटले पर्यटन क्षेत्रमा ठूला सभा हलसहितका माइस पर्यटन, साहसिक, पर्वतीय, कृषि, ग्रामीण, जलयात्रा, पर्या, संस्कृति, खेल, शिक्षा, स्वास्थ्यसँग सम्बन्धित पर्यटन प्रोडक्टलाई एकीकृत रूपमा विकास गर्ने बजेटमा भनिएकोमा भने हानले स्वागत गरेको छ ।
पूर्वदेखि पश्चिमसम्म हिमालय हरित पदमार्ग, महाभारत क्षेत्रमा शीतल आवास, काठमाडौंं उपत्यकाको ट्राफिक तथा प्रदूषण व्यवस्थापनसहितको रात्रीकालीन सम्पदा यात्रा, रारा क्षेत्रलगायत धार्मिक एवं ऐतिहासिक स्थानको प्रवद्र्धन, भूकम्पमा भत्किएको सम्पदा संरक्षण र पुनर्निर्माण, आन्तरिक पर्यटन विकासमा बजेटले जोड दिएको सराहनीय रहेको संघले जनाएको छ ।
यस्तै काठमाडौं विमानस्थललाई बुटिक एयरपोर्ट रूपमा विकास गर्ने र अत्यधिक चाप घटाउन वैकल्पिक डोमेस्टिक एयरपोर्ट निर्माणका साथै पोखरा, भैरहवा, निजगढ विमानस्थलहरूको निर्माणलाई सकारात्मक भनेको छ । भारत र चीन जोड्ने राजमार्गको स्तरोन्नतिसँगै अन्य सडक निर्माण, पुल, नयाँ गन्तव्य विकासमा प्राथमिकताका साथ बजेट विनियोजन भएको स्वागत गर्दै सोको सवल कार्यान्वयन हुनुपर्ने हानका कार्यवाहक अध्यक्ष विनायक शाहले बताएका छन् ।
“कार्यान्वयन पक्ष कमजोर हुँदा चालू आर्थिक वर्षको बजेटमा घोषित सातै प्रदेशका एक सय नयाँ पर्यटकीय गन्तव्य स्थलहरूको विकास कार्यक्रम अलपत्र परे जस्तै हुनेतर्फ होटल संघ नेपालले सरकारको ध्यान आकृष्ट गर्दै यसतर्फ सरकारी व्यवस्थापकीय क्षमता अभिवृद्धि गराउनुपर्ने देखिएको छ,” शाहले भने ।
बजेटले उठाउन प्रस्ताव गरेको सडक दस्तुर र इन्धनमा थप शुल्कको सडक मर्मत सम्भारमा मात्र अनिवार्य उपयोगको ग्यारेन्टी गर्न सरकारलाई आग्रह गर्दै हानले सरकारी स्तरबाट दिइने उपहारहरू स्वदेशी उत्पादन मात्र हुनुपर्ने माग गरेको छ । यस्तै, बजेटको घोषणामा नेपाली दूतावास लगायतका सरकारी स्तरबाट आयोजना हुने भोजहरू र नेपाली हवाई कम्पनीहरूले उडानमा दिने खानाहरूमा अनिवार्य रूपमा नेपाली रैथाने खानाका परिकारहरू समावेश हुनुपर्नेमा पनि जोड दिएको छ ।
हानले आगामी आवको बजेटमा प्राविधिक र व्यावसायिक शिक्षाको विकास र विस्तारमा दिइएको प्राथमिकतालाई सराहना गर्दै होटल उद्योगको गुणस्तरीय सेवा दक्ष कामदारबाट मात्र सम्भव हुने हुँदा होटलहरूले दिने व्यावसायिक तालिमहरूको खर्चको शोधभर्ना तथा कर छुटको प्रावधान प्रारम्भ गर्न सरकारलाई अनुरोध गरेको छ ।
होटल उद्योगको क्षमताको तुलनामा आधाको हाराहारीमा मात्र आउने हालको पर्यटक संख्यालाई दृष्टिगत गरी बजेटले अंगीकार गरेको वित्तीय नीति तथा सोही अनुरुप अंगीकार हुने मौद्रिक नीतिअन्तर्गत व्यवसाय टिकाउन ब्याज लगायतमा सहुलियत हुनुपर्ने तथा बेलगाम फस्टाउँदै आएका विश्वव्यापी सञ्जाल भएका अनलाइन बुकिङ सिष्टम तथा ऐन कानुनले निर्दिष्ट गरेभन्दा विपरीतका होमस्टे तथा मोनास्ट्रिस्टे व्यवसायलाई कानुन र करको दायरामा ल्याउनु पर्नेमा पनि हानले विशेष जोड दिएको छ ।
बजेटले पर्यटनमा पनि सहकारी गतिविधिलाई प्रोत्साहन गर्ने नीति लिएको परिप्रेक्ष्यमा होटल संघ नेपालले पर्यटन विकासमा सम्पूर्ण रूपमा निजी क्षेत्रको योगदान, लगानी र उच्च व्यावसायिक क्रियाशीलतालाई नघट्ने गरी सहकारीलाई प्रतिस्पर्धी भन्दा विकास साझेदारका रूपमा विकास गराउनुपर्नेमा संघले जोड दिएको छ ।
पर्यटन प्र्रवद्र्धनमा विदेशस्थित नेपाली दूतावासहरू र झन्डै ८० देशमा स्थापित भइसकेका गैरआवासीय नेपाली संगठनलाई अधिकतम परिचालन गर्न सरकारबाट घोषित ‘आर्थिक कूटनीति’लाई थप व्यापक र सक्रिय तुल्याउन विनियोजित बजेटको भरपूर उपयोग गर्न पनि होटल संघ नेपालले माग गरेको छ ।
प्रतिक्रिया