Logo

कृषि / सहकारी

बहुबाली खेतीका माध्यमबाट लाखौं रुपैयाँको आम्दानी


GDP नेपाल
   २८ जेष्ठ २०८१, सोमबार


रौतहट । उखुसँगै विभिन्न जातका तरकारी खेती गरेर रौतहटका एक कृषकले मनग्य आम्दानी गरेका छन् । गढीमाई नगरपालिका–२ का अगुवा कृषक कामेश्वर सहनीले पहिलो पटक उखु बालीसँगै तरकारी खेती पनि गरेका हुन् ।

उखु र तरकारी खेतीसँगै गर्दा असर पर्ने र उब्जाउ नहुने चिन्ता भएपनि परीक्षणका रुपमा गरिएको उनको भनाइ छ । यद्यपी, उखु र तरकारीसँगै खेती गर्दा समस्या नहुने र उब्जाउ पनि हुने अनुभव उनको छ । उखुबालीमा पनि मौसम र झार सुहाउँदो अन्य तरकारी खेती गरेर उत्पादन लिन सकिने उनी बताउँछन् ।

उनले उखु खेतीबाली भित्र पनि मिश्रित खेती गरेर बहुबालीको उत्पादन लिन सकिने र आम्दानीको स्रोत समेत बढ्ने बताए । उखुबालीमा प्याज, खुर्सानी, घिरौँला, लौका आदि लगाउन सकिने भएकाले निर्धक्क भएर खेती गर्न अगुवा कृषक सहनीले सुझाव दिए । कृषक सहनीले करिव चार बिगाहा जमिनमा उखु बालीसँगै तरकारी पनि लगाएको जानकारी दिए । आफुले आठ बिगाहमा उखु खेती गरेको भएपनि चार विगाहमा मात्र तरकारी र उखु सँगै लगाएको बताए ।

उखु खेतीसँगै गरेको खुर्सानीको उत्पादन राम्रो हुँदा करिब ७० हजार रुपैंयाँको बिक्री गरिसकेको सहनीले जानकारी दिए । हरियो खुर्सानी बजारमा उच्च माग भएकाले खेतबाटै थोकमा नै व्यापारीहरूले लगेको उनले बताए । उनले उखुसँगै सहनीले खुर्सानी हुर्काएका हुन् । संगै प्याज, घिरौँला र लौका पनि उत्पादन गरेका छन् ।

अहिले सिजनमा मूल्यमा करिब ६० हजार रुपैयाँ बराबरको प्याज, एक लाख भन्दा बढी रुपैंयाँको घिरौँला र तीन लाख भन्दा बढीको लौंका बिक्री भएको उनको कथन छ । उखुको दुई लाइनको बीचमा रहेको खाली जमिनमा हुर्केको तरकारीबाट आफुले मनग्य आम्दानी लिएको जिकिर उनले गरे ।  यस क्षेत्रमा उखु खेती गर्ने अन्य कृषकलाई समेत उखुसँगै तरकारी उत्पादन गरेर लाभ लिन उनले आग्रह गरे ।

उखुलाई एक वर्षमा उत्पादन हुने नगदे बाली मानिन्छ । तर यसरी तरकारी खेती गरेर कृषकले दोहोरो आम्दानी लिनसक्ने कृषि ज्ञान केन्द्र गौरले जनाएको छ । उखुबालीमा कुनै पनि तरकारी खेती गर्दा अतिरिक्त सिँचाइ गर्नु नपर्ने तथा उखुकै लागि गरिएको सिँचाइ र गोडमेलले तरकारी बालीलाई पनि फाइदा पुग्छ । उखुबालीलाई दिएको मलजलले पुग्ने हुँदा सँगै गरिने मिश्रित तरकारी बालीले अतिरिक्त आम्दानी दिन्छ । जमिनमा तरकारी बालीको लहरा वा झारले छोप्दा जमिनको चिस्यान मर्दैन र दिइएको मलजलले राम्ररी काम गर्न पाउँछन् । जसका कारण उखु खेतीसँगै तरकारी पनि फाइदा पुग्ने कृषि ज्ञान केन्द्र गौरले जनाएको छ ।

 

प्रकाशित : २८ जेष्ठ २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह