Logo

अर्थनीति

प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित


GDP नेपाल
   १२ असार २०८१, मंगलबार


काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ । 

मंगलबार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा उपसभामुख सभामुखले विनियोजन विधेयक, २०८१ लाई प्रतिनिधि सभाबाट बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेश गरेका थिए।

उक्त बजेटलाई अर्थमन्त्री पुनले पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए। बजेट पारितको प्रस्तावअघि प्रधानमन्त्री पुष्पकमल दाहाल  ’प्रचण्ड’ले  विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,राष्ट्रिय योजना आयोग,उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ विदेश भ्रमणमा रहेकाले सो मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले  दिएका थिए।  परराष्ट्रमन्त्री श्रेष्ठ एसिया को–अपरेसन डायलग (एसीडी)का सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको १९औं बैठकमा भाग लिन इरान गएका छन् ।

बजेट पारित गराउन नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपालगायत सत्तापक्ष दलले ह्विप जारी गरेका थिए । प्रतिपक्षी दल नेपाली कांग्रेसले भने बजेटको विपक्षमा मतदान गर्न र बजेट पास नहुञ्जेल संसद बैठकमा अनिवार्य उपस्थित हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएको थियो ।

बैठकमा सांसदहरूले राखेका विभिन्न मन्त्रालयको खर्च कटौतीका प्रस्तावहरू बहुमतले अस्वीकृत गरेको थियो ।  बैठकमा ३१ वटा खर्च कटौतीका प्रस्ताव प्रस्तुत भएका थिए ।

प्रकाशित : १२ असार २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह