Logo

राजनीति

एमाले-माओवादी एकीकरण, ‘अन्डरलाइन’ नेपाल कम्युनिष्ट पार्टी गठन


appharu
   ३ जेष्ठ २०७५, बिहिबार


काठमाडौं । अनेकौं आशंका र विमतिबीच नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भएको छ । दुई पार्टी मिलेर बिहीबार नेपाल कम्युनिष्ट पार्टीको घोषणा गरिएको छ ।
राष्ट्रिय सभागृहमा आयोजित विशेष पत्रकार सम्मेलनमा नयाँ पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पार्टी स्थापना भएको घोषणा गरे । तर, पार्टी एकतामा कम्युनिष्ट पार्टीका आधारभूत नीति, सिद्धान्त र आदर्शलाईभन्दा भावी कार्ययोजनालाई प्राथमिकता दिइएको छ ।
पार्टी एकता घोषणामा एक मिनेट ताली बजाएर खुशीयाली व्यक्त गरिएको थियो । कार्यक्रममा नवगठित कम्युनिष्ट पार्टीको घोषणापत्र बिघटित नेकपा एमालेका पूर्वमहासचिव माधवकुमार नेपालले वाचन गरेर सुनाएका थिए ।
पार्टी हाइकमाण्ड, स्थायी समिति र केन्द्रीय समितिसमेत गठन गरिएको छ । यसअघि एकता गर्ने सहमतिपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल निर्वाचन आयोगमा पुगेर ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्न निर्वाचन आयोगमा निवेदन बुझाएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेकाले अन्डरलाइन दिइएको हो । पार्टीको तत्कालीन कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’ हुने जनाइएको छ ।
घोषणा समारोहमा अध्यक्ष दाहालले पार्टी एकताका लागि जनतासंग गरेको संकल्प र प्रतिबद्धता पूरा भएको बताउँदै अब नेपाली जनतालाई सुखी बनाउनु, देशलाई सुखी र समृद्ध बनाउनु तथा समाजिक न्यायसहितको आर्थिक समृद्धिबाट देशलाई अगाडि बढाउनु रहेको धारणा व्यक्त गरे ।
यस्तै, अध्यक्ष ओलीले स्थानीय तहदेखि ६ वटा प्रदेश सरकार र संघीय संसदमा एकल कम्युनिष्ट पार्टीको बहुमतको सरकार भएको बताए । उनले आगामी निर्वाचनमा कम्युनिष्ट पार्टी एक्लैले तीन चौथाई मत पाउने दाबी गर्दै हारबाट नआत्तिन नेपाली कांग्रेसलाई आग्रह गरेका थिए ।

तस्बिर ः रासस

प्रकाशित : ३ जेष्ठ २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह