काठमाडौं । स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर कम्पनीको साधारणसभा असार ३१ गते हुने भएको छ ।
अघिल्लो साता बोलाइएको साधारणसभामा गणपुरक संख्या नपुगेको भन्दै स्थगित भएपछि नयाँ मिति तय भएको हो । कम्पनी ११ औं साधारणसभाले ४ नयाँ सञ्चालक चयन गर्ने भएकाले यसलाई निकै महत्वका साथ हेरिएको छ ।
तर, आयोजना प्रभावित क्षेत्र दोलखाबाट संकलन गरेको अधिकांश प्रोक्सी बदर भएको छ । स्थानीयको प्रोक्सीमा सेयरधनी नं. र दस्तखत नमिलेको भन्दै निर्वाचन अधिकृतले रद्द गराएका हुन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले स्थगित साधारणसभा असारको अन्तिम दिन राष्ट्रिय सभागृह काठमाडौंमा गर्ने सञ्चालक समितिले निर्णय गरेको जानकारी दिए । कम्पनीले स्थगित साधारणसभा ७ दिनपछि नै गर्ने तयारी गरे पनि स्थान अभावका कारण २० दिनपछि सरेको उनको भनाइ थियो ।
साधारणसभाका लागि कम्पनीको निर्वाचन नियमावलीअनुसार गणपुरक संख्या ६७ प्रतिशत हुनुपर्ने व्यवस्था छ । संस्थागत लगानीकर्ता ५१ प्रतिशत र सर्वसाधारणको प्रोक्सी उपस्थितिका आधारमा ५ प्रतिशत गरी जम्मा ५६ प्रतिशत मात्र उपस्थिति देखिएकाले साधारणसभा नै स्थगित गर्नुपरेको कम्पनीका अध्यक्षसमेत रहेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
घिसिङका अनुसार आगामी साधारणसभामा कम्पनीको निर्वाचन नियमावलीसमेत संशोधन प्रस्ताव हुने छ । निर्वाचन नियमावली संशोधन नभए अपर तामाकोसीको कहिले पनि गणपुरक संख्या नपुग्ने स्थिति छ । संशोधन प्रस्तावमा साधारणसभाको गणपुरक संख्या ५१ प्रतिशत हुने छ ।
स्थगित साधारणसभाको मिति अर्को तोकिए पनि उम्मेदवार भने पुरानै हुने कम्पनी सचिव रामसुन्दर श्रेष्ठले बताए । तर उम्मेदवारले असार २७ गते बिहान अर्थात ९६ घण्टा अघिसम्म थप प्रोक्सी भने संकलन गर्न पाउने छन् । यसअघि उम्मेदवारले आफूले बुझाएको प्रोक्सी रद्द भएको लिष्ट नै सम्बिन्धित उम्मेदवारलाई फिर्ता दिएका छन् ।
कम्पनीले देशकै सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । अपर तामाकोसी हाइड्रो पावर लिमिटेडमा सर्वसाधारणका तर्फबाट सञ्चालक बन्न १२ जना प्रतिस्पर्धामा छन् । ४ जना सञ्चालकका लागि ३ महिलासहित १२ जनाको उम्मेदवारी परेको हो ।
सर्वसाधारण सेयरधनी समूह (ख) बाट सञ्चालक बन्न मनोनयन दर्ता हुने समयसम्म उक्त आवेदन परेको हो । कम्पनीमा ८ लाख १८ हजार सेयरधनी छन् । सेयरधनी सबैले सञ्चालक छनोट गर्न मतदान गर्न पाउनेछन् ।
कम्पनीको सञ्चालक बन्नका लागि प्रकाश भुषाल, डा. प्रदिपकुमार मैनाली, अशोक बुढाथोकी, हरिप्रसाद भुर्तेल, गोसाइँ केसी, कल्याणी रिमाल, सिर्जना सुवेदी, प्रकाश तिवारी, विश्वनाथ शर्मा, लोकेन्द्रबहादुर साउद, सुशिल पोखरेल र रामहरि शर्मा दौडमा छन् । मैनाली, केसी, रिमाल र पोखरेल दोलखाबासी हुन् ।
रामहरि शर्मा नेपाल सरकारका उपसचिव हुन् भने विश्वनाथ शर्मा र साउद नेपाल विद्युत् प्राधिकरणका बहालवाला कर्मचारी हुन् ।
आयोजना प्रभावित क्षेत्र दोलखाबाट संकलन गरेको अधिकांश प्रोक्सी बदर भएको छ । स्थानीयको प्रोक्सीमा सेयरधनी नं. र दस्तखत नमिलेको भन्दै निर्वाचन अधिकृतले रद्द गराएका हुन् ।
एक वर्षअघि स्थानीयलाई सेयर वितरण गरे पनि आयोजना प्रभावित स्थानीयसँग सेयर आवेदन गरेको फारामको अर्धकट्टीवाहेक कुनै पनि प्रमाणपत्रसमेत छैन । कम्पनीले स्थानीयलाई न त सेयरधनी प्रमाणपत्र वितरण ग¥यो न त डिम्याट खातामा नै जम्मा गरेको छ । स्थानीयले सेयर आवेदन गर्दा डिम्याट खाता नं. राखे पनि अहिले प्रोक्सीमा त्यही डिम्याट खाता नं. राख्दा रद्द भएको छ ।
यसअघि कम्पनीले स्थानीयका लागि सेयर धनी नम्बर, नागरिकता नम्बर वा अर्धकट्टी नम्बर जुन राखे पनि सदर हुने आश्वासन दिएर प्रोक्सी संकलन गर्न लगाएको थियो । सहायक निर्वाचन अधिकृत सञ्जिव लामाले सेयरधनी नं. र डिम्याट खाता नं. बाहेक अरु हेर्नै असम्भव रहेको बताए ।
प्रतिक्रिया