नयाँदिल्ली, (एजेन्सी): नेपालको दक्षिणी छिमेकी भारतको शक्तिशाली सरकारको संसारकै महाशक्ति राष्ट्र अमेरिकासँगको सम्बन्ध थप जटिल बन्दै गएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित भएयता अमेरिकासँगको सम्बन्ध तिक्ततापूर्ण बन्दै गएकाले यसले क्षेत्रीय शान्ति र सन्तुलनमा असर पार्ने चिन्ता पनि गरिएको छ ।
त्यसो त मोदी सरकारलाई विदेश नीतिको क्षेत्रमा कैयौं चुनौतीको सामना गर्नुपरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार फेरि धम्की दिँदै भनेका छन्, “भारत लामो समयदेखि एक क्षेत्रमा भन्सार शुल्क बढाउँदैछ, जुन अस्वीकार्य हो ।” यो धम्कीको माध्यमबाट अमेरिका नयाँ दिल्लीमा भारत र अमेरिकाबीच हुने आधिकारिक वार्ताभन्दा पहिले दबाब बनाउन चाहेको संकेत दिएको छ ।
तर, भारत र अमेरिका दुवै एक–अर्कालाई रणनीतिक साझेदार भएको दाबी गर्दै आएका छन् । पछिल्ला दुई दशकको अवधिमा दुई देशबीचको विवाद कैयौं गुणाले वृद्धि भएको छ । जसमा रूसबाट अर्बौ डलरको एस–४०० मिसाइल प्रणाली खरिद गर्ने र इरानी तेल खरिद गर्ने विषयहरू पनि समावेश भएका छन् ।
भारतले आफ्नो छिमेकीसँग पनि समस्याको सामना गरिरहेको छ । किनकि पाकिस्तानसँगको तनाव चरम अवस्थामा पुगेको छ भने नेपालको झुकाव चीनतर्फ बढ्दै गएको छ । चीनले ७० देशमा आफ्नो वेल्ट एन्ड रोडको माध्यमबाट ४० खर्ब डलरको पहल सुरु गरेको छ । जसमा भारत अनिश्चित स्थितिमा रहेको छ ।
यसैबीच, लामो समयदेखि भारतको मित्र रहँदै आएको रूस पनि चीनतर्फ झुकाव देखाउन थालेको छ । यो भारतका लागि राम्रो होइन । यो विशेष गरी अमेरिकातर्फ भारतको झुकावको कारण देखिएको छ ।
मोदीको पहिलो कार्यकालमा नरेन्द्र मोदी तथा ट्रम्पबीच राम्रो समझदारी रहदै आएको थियो ।
तर, हाल अवस्थामा विलकुल परिवर्तन आएको छ । किनकि अमेरिकी हितमा आँच आउने विषय ट्रम्प बिलकुल सहन गर्न सक्दैनन् । अमेरिका कास्मिरको आतंकवादीले गर्ने हत्या थाहा नपाएको जस्तो गरेर बसिरहेको थियो । जबसम्म सेप्टेम्बर ११ मा अमेरिकामा आतंकवादी हमला भएको थिएन, त्यतिबेलासम्म भारतको पीडा अमेरिकाका लागि अचानाको पीर खुकुरीले जान्दैन भन्ने जस्तै भएको थियो ।
उक्त आतंकवादी हमलापछि आतंकवादप्रति अमेरिकी धारणा पनि फेरिएको थियो । यसैगरी मनमोहन सिंहको शासनकालमा अमेरिकासँगको परमाणु सम्झौता उसँगको सुमधुर सम्बन्धाको नतिजा थियो, जुन पछि गएर थप मजबुत बनेको थियो । जब ट्रम्प राष्ट्रपति बने, मोदीले उनीसँग पनि राम्रो सम्बन्ध राख्ने प्रयास गरे । तर, अमेरिकी राष्ट्रपतिको अप्रत्याशित व्यवहार भारत सरकारका लागि चिन्ताको कारण बनेको छ ।
अमेरिकाले भारतसँग सौविध्यपूर्ण व्यापार प्रणाली (जीएसपी) फिर्ता लिएको छ, जसमा भारतीय निर्यातको शुल्कमा ६ अर्ब डलरको फाइदा मिलेको थियो । मोदी सरकारले आफ्नो बजारमा अमेरिकी कम्पनीलाई न्यायसंगत तथा उचित पहँुच नदिएको भन्दै ट्रम्पले यस्तो निर्णय गरेका हुन् । यसको प्रतिक्रियामा भारतले बदाम तथा स्याउसहित २८ अमेरिकी उत्पादनमा प्रतिशोधात्मक शुल्क लगाएको छ ।
प्रतिक्रिया