काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आम सर्वसाधारणका लागि छिटै धरहरा खुला गर्ने गरि तयारी गरिररहेको बताएका छन् ।
बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारहरुको धरहरासम्बन्धी जिज्ञासामा उपप्रधानमन्त्री सिंहले सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्ने गरि बन्दोवस्ती मिलाउन लागिएको बताए ।
धरहराको सबै काम नसकिए पनि धरहरा चढ्न चाहनेहरुका लागि आवश्यक बन्दोबस्त भने छिटै हुने उनको भनाई थियो । ‘ धरहरा चढ्न चाहनेहरुका लागि सरकारले एक सय दिनभित्रै केही व्यवस्था गर्न लागिरहेको छ । धरहराको सबै होइन केही भाग खुला गर्नका लागि हामी लागिरहेका छौं,’ उपप्रधानमन्त्री सिंहले भने ।
त्यस्तै नयाँ शहरका सम्बन्धमा पत्रकारहरुको जिज्ञासामा उपप्रधानमन्त्री सिंहले यसअघि सरकार अस्थिर हुँदा प्रक्रियामा ढिलाई भएको भन्दै अहिले संसदकै दुई ठूला दल मिलेर सरकार बनेकाले नयाँ शहरहरुलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने प्रक्रियाले अब गति लिने बताए ।
काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पनि मन्त्रालयले स्थानीय तहसँग आवश्यक छलफल गरिररहेको उनले बताए । सरकारले अहिले नीति निर्माणमा बढी जोड दिइरहेको उपप्रधानमन्त्री सिंहको भनाई थियो ।
प्रतिक्रिया