Logo

अर्थनीति

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्री र निजी क्षेत्रको आग्रह


appharu
   २४ चैत्र २०७४, शनिबार


नयाँदिल्ली, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिले प्रतिनिधिसभाको तीन चौथाई मत प्राप्त सरकार गठन भएकाले लगानीको थप अवसर सिर्जना भएको बताएका छन् । तीन दिने भारत भ्रमण्को पहिलो दिन इन्डिया नेपाल विजनेश फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतीय लगानीकर्ता संसारभर नै लगानीका लागि गएको भन्दै नेपालमा पनि खुला हृदयका साथ आउन आग्रह गरे।

सरकारले नयाँ उद्योग स्थापना लागि विशेष आर्थिक क्षेत्र स्थापना गरेको, उद्योग, व्यवसायमैत्री औद्योगिक नीति ल्याएको, श्रम समस्या नरहेको, भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता कायम गरेको जानकारी दिँदै सरकार सबै प्रकारको लगानीलाई स्वागत गर्न तयार रहेको उनले बताए ।

सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई कुनै पनि विभेद नगरेको, समान सुविधा दिएको, वीरगञ्जमा एकीकृत जाँचचौकी स्थापना गरी सहज भन्सार सुविधा दिन थालिएको र त्यस्तो चौकी अन्य तीन स्थानमा पनि स्थापना हुने क्रममा रहेको भन्दै उनले आश्वस्त पार्ने प्रयाश गरे ।

ओलीले नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता गरिएको, ढल्केबर मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन सञ्चालनमा रहेको, अर्को प्रसारण लाइन निर्माणको प्रारम्भ भएको, माथिल्लो कर्णाली, अरुण तेस्रो आयोजना निर्माण हुन लागेकाले ऊर्जा क्षेत्रमा लगानीको महत्वपूर्ण अवसर रहेको भन्दै भारतीय उद्योगी व्यवसायीलाई आग्रह गरे।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपाल सरकारले लगानीमैत्री वातावरण बनाउन नीतिगत सुधार गरेको, राजनीतिक रुपमा समेत सहज वातावरण बनेको भन्दै वैदेशिक लगानीका लागि उपयुक्त अवसर रहेको जानकारी गराइन् ।
उनले नेपाल र भारतका निजी क्षेत्र मिलेर पनि काम गर्न सकिने उल्लेख गर्दै उद्योगी तथा व्यवसायीको छाता संगठन भएकाले पनि महासंघले पनि थप सहजीकरण गर्ने स्पष्ट पार्नुभयो । उहाँले लगानी बोर्डको क्षमता वृद्धि र कार्यक्षेत्रको विस्तारसमेत भएकाले लगानीको वातावरण बनेको बताइन्।

उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपाल लगानीका लागि एकदमै उपयुक्त भएकाले जुनसुकै क्षेत्रमा पनि नाफा कमाउन सकिने भएकाले लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह गरे ।
नेपाल र भारतबीचको खुला सिमानाका कारण पनि एक अर्काबीच सहज सम्बन्ध रहेको उल्लेख गर्दै उनले दुई देशका लगानीकर्ताबीच विभिन्न क्षेत्रमा सहकार्य गर्न सकिने बताए ।

यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा लगानीका लागि आउन भारतीय लगानीकर्तालाई आग्रह गरे । रासस

प्रकाशित : २४ चैत्र २०७४, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह