Logo

विकास / पूर्वाधार

एक साताभित्र अवरुद्ध बीपी राजमार्ग खुल्छ: गृहमन्त्री


GDP नेपाल
   २२ आश्विन २०८१, मंगलबार


काठमाडौं । गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र डाइभर्जनसहित विपद्का कारण अवरुद्ध बीपी राजमार्गमा सवारी चलाउने व्यवस्था हुने बताएका छन् ।

मंगलबार बाढी, पहिरो प्रभावित जिल्लाको स्थलगत अवलोकनका क्रममा सिन्धुलीको खुर्कोट प्रभावित क्षेत्रको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले अतिभारी बर्षाका कारण आएको विपद्बाट सबैभन्दा बढी क्षति भएको बीपी राजमार्ग अस्थायी रुपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाली सेना लागि रहेको बताए ।

उनले भने,‘बीपी राजमार्गमा धेरै क्षति भएको छ, एक हप्ताभित्र डाइभर्सजनसहित सवारी चलाउने व्यवस्था हुन्छ । यहाँका अवरुद्ध भित्री सडक सञ्चालनदेखि पुल निर्माणसम्म सेनाको धेरै ठुलो भूमिका देखिएको छ ।’

विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागि परेको बताउँदै गृहमन्त्री लेखकले जतिसक्दो चाँडो समस्याबाट पार पाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

‘यो समस्यामा कहाँ जाउँला ? के गरुँला ? यो नसोच्नुहोला । सरकार छ, सरकार भनेको सबैको अभिभावक पनि हो ’उनले भने । विपद्को समस्या सबै मिलेर समाधानमा जुट्नुपर्नेमा जोड उनको थियो ।

उनले भने,‘यसमा कुनै राजनीति छैन, कुनै पक्ष विपक्ष छैन् । तीनवटै सरकार, सबै राजनीतिक दल, गैरसरकारी संस्था सबै मिलेर हामीले यो विपद्पछिको समस्या समाधान गर्नुछ ।’ मन्त्री लेखकले पालिकाहरुलाई तत्काल लाभग्राही विवरण पठाउन आग्रह समेत गरे ।

उनले भने,‘लाभग्राहीको विवरण आएको तीन दिनभित्र तत्काल राहतका लागि रु १५ देखि २० हजार र अस्थायी आवास निर्माणमा पहिलो किस्ता स्वरुप २५ हजार दिन्छौं । त्यसका लागि प्रभावित जिल्लाका पालिकाहरु चाँडो लाभग्राही विवरण पठाइदिनुपर्‍यो ।’

सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरको केही क्षेत्रमा गृहमन्त्री लेखकसंगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देल सहितको टोली बाढी÷पहिरो प्रभावित क्षेत्रको अनुगमन गरिरहेका छन् । यसअघि गृहमन्त्री लेखकले काभ्रेपलाञ्चोक र ललितपुरको गोदावरी क्षेत्रको प्रभावित स्थल अनुगमन गरेका थिए ।

प्रकाशित : २२ आश्विन २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह