नयाँ दिल्ली (एजेन्सी): नेपालको दक्षिणी छिमेकी भारत विगतमा तीब्र आर्थिक वृद्धिको पर्याय मानिए पनि पछिल्ला केही वर्षदेखि भने भारतको आर्थिक वृद्धि अपेक्षाकृत राम्रो छैन । बरु, नेपालले पछिल्ला तीन आर्थिक वर्षमा राम्रो आर्थिक वृद्धि हासिल गरिरहेको छ ।
भारतको आर्थिक वृद्धि उसका दुई छिमेकी नेपाल र बंगलादेशभन्दा कम रहेको भारतीय अधिकारीहरुले नै स्वीकार गरेका छन् । गत शुक्रबार भारतको केन्द्रीय तथ्यांक कार्यालयले अप्रिल–जुन त्रैमासिक अवधिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आँकडा सार्वजनिक गर्दा देशको आर्थिक वृद्धिदर ५ प्रतिशतमा झरेको देखाएको छ । भारतको यो वृद्धिदर करिब ७ वर्षकै न्यून हो ।
नेपाल र बंगलादेशभन्दा कम आर्थिक वृद्धि हासिल भए पनि भारतको वृद्धिदर चीनको भन्दा बढी छ । यो अवधिमा बंगलादेशको जीडीपी वृद्धिदर ७.९ प्रतिशत रहेको छ भने नेपालको ७.१ प्रतिशत छ ।
प्रत्येक देशको जीडीपी तय गर्ने मापदण्ड फरक–फरक हुन्छ । भारतको केन्द्रीय तथ्यांक कार्यालय (सीएसओ) ले यसको निर्धारण गर्दै आएको छ । सीएसओले उत्पादन तथा सेवाको मूल्यांकनका लागि एक आधार वर्ष तय गर्छ ।
कुल गार्हस्थ्य उत्पादन (जीडीपी) लाई कुनै पनि देशको आर्थिक स्वास्थ्यको मापन गर्ने महत्वपूर्ण विधि मानिँदै आएको छ । जीडीपी कुनै विशेष अवधिमा देशभित्र वस्तु तथा सेवाको उत्पादनको कुल मूल्य हो । नेपालमा जस्तै भारतमा पनि जीडीपीको गणना प्रत्येक त्रैमासिक अवधिमा हुने गरेको छ ।
यदि जीडीपीको आँकडा बढ्यो भने यसको अर्थ देशको विकासको गति सही मार्गमा आएको मान्न सकिन्छ । यसैगरी यदि आँकडा लगातार कम भयो भने देश खतरातर्फ गएको मान्न सकिन्छ । जीडीपी थोरै भयो भने मानिसको औसत आय पनि कम हुन्छ र नागरिक गरिबीको रेखामुनि जान थाल्छन् । यसका अतिरिक्त रोजगारी सिर्जनाको गति पनि सुस्त हुन थाल्छ ।
प्रतिक्रिया