बारा । बहुप्रतिक्षित निजगढ विमानस्थल निर्माणको प्रारम्भिक काम सुरु भएको छ । विमानस्थल निर्माणका लागि लगानी र निर्माण मोडालिटीको टुंगो लाग्न नसके पनि साइट क्लियरेन्सको काम भने सुरु भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थल मंसिरमा शिलान्यास गर्ने बताइसकेका छन् । सोही अनुसार आयोजना कार्यालयले वस्ती स्थानान्तरणको काम सुरु गरेको हो । धावनमार्ग निर्माण हुने स्थानमा रहेको टाँगियावस्तीलाई पुनर्वास योजनाअन्तर्गत स्थानान्तरण गर्न लागिएको जनाइएको छ ।
पुनर्वासको प्रारम्भिक कामपछि निर्माण कामको थाल्न गर्न सहज हुनेछ । मुख्य धावनमार्गमा पर्ने टाँगिया वस्तीमा रहेका १४७६ परिवारलाई कोल्हवी नगरपालीकाको वडा ३ जताहा, जौरामा स्थानान्तरण गरिनेछ ।
कोल्हवीमा नेपाल सरकारको जडिबुटी प्रशोधन केन्द्रको २ सय बिघा आवादी जग्गा छ र सोही स्थानमा सार्ने योजना रहेको आयोजनाका प्रमुख ओम शर्माले जानकारी दिएका छन् ।
बाराको कोल्हवीस्थित नेपाल सरकारको स्वामित्वमा रहेको जडिबुटी प्रशोधन केन्द्रको १ हजार बिघा क्षेत्रफलमध्ये प्रयोगमा नआएको आवादी २ सय बिघा जग्गामा वस्ती सारिन लागेको र स्थानीय तहले समेत यसअघि सहमति जनाइसकेको छ ।
शिल्यान्यासपूर्व वस्ती स्थानान्तरण गर्ने कार्यलाई तीव्र पारिने र पहिलो धावनमार्ग, टर्मिनल भवन सोही वस्ती बसेको स्थानमा बन्ने हुँदा नपुग स्थानमा रहेको बुट्यान र केही नगण्य सालका रुखमात्रै क्षति हुने शर्माको दावी छ । सरकारले स्थानान्तरणका लागि २० करोड बजेट निकासा गरिसकेको र पुनर्वासको कार्य थालनीसँगै नपुग रकम तुरुन्तै सरकारले वितरण गर्ने भएको छ ।
प्रतिक्रिया