Logo

Banner-news

चिनियाँ राष्ट्रपति भारतको भ्रमण पूरा गरी नेपालमा


GDP Nepal
   २५ आश्विन २०७६, शनिबार


काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणमा सुरु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा फिङ विशेष विमानबाट काठमाडौं आएका हुन् ।

नेपालको दुई दिवसीय भ्रमणमा रहेका राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले हार्दिकतापूर्वक स्वागत गरे । राष्ट्रपति भण्डारीले विमानमा नै पुगेर राष्ट्रपति सीलाई स्वागत गरेकी थिइन्।

त्यसलगत्तै नेपाली सेनाको एक टुकडीले विशिष्ट अतिथि राष्ट्रपति सीको सम्मानमा २१ तोपको सलामी दिएको थियो । चिनियाँ राष्ट्रपति सीको नेपाल बसाइलाई आनन्ददायी बनाउन भव्य तयारी गरिएको छ । सबै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ । विमानस्थलकै मूलद्वार राष्ट्रपति सीको स्वागतका लागि आकर्षक पारिएको छ ।

विमानस्थल परिसर र वरपर सातै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय पोशाक पहिरिएका विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितका जनसाधारणले नेपाल र चीनका झण्डा फहराएर चिनियाँ राष्ट्रपतिको स्वागत गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति आतिथ्यता एवं आवासको प्रबन्ध गरिएको स्थल तथा त्यहाँबाट राष्ट्रपति भवन शीतल निवाससम्मको सवारी मार्गका दुवै किनार भव्य रुपमा सिङ्गारिएको छ । विमानस्थल प्रवेशको स्वागतद्वारदेखि नै राष्ट्रपतिलाई विभिन्न परम्परागत नेपाली बाजागाजासहित स्वागत गरिएको थियो ।

चिनियाँ विशिष्ट पाहुनाको आवागमनका सडकमा ठाउँठाउँमा ‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मैत्री’, ‘नेपाल चीन मित्रता विशाल, गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ’ लेखिएका ब्यानर र स्वागतद्वार बनाइएका छन् । विमानस्थलबाट बाहिरिने द्वार, तीनकुने चोक, माइतीघर मण्डल, त्रिपुरेश्वर, कालीमाटी चोक ताहाचललगायत स्थान चिटिक्क सिङ्गारिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सप्तरङ्गी इन्द्रेणीको अनुभव हुने गरी पानीको फोहरा निर्माण गरिएको थियो भने ढकमक्क फुलेका फूलले विमानस्थल र सवारी मार्गको शोभा नै बढाएको थियो ।

राष्ट्रपति सीलाई विमानस्थलबाट उहाँलाई आतिथ्यता एवं आवासको व्यवस्था गरिएको स्थलसम्मका सवारीमार्गका दायाँबायाँ नेपाल सरकारका कर्मचारी, विभिन्न शैक्षिक प्रतिष्ठानका विद्यार्थीसहित विशाल जनसमुदायले नेपाल र चीनका झण्डा फहराउँदै स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारी र उनका समकक्षी सीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भइरहेको छ भने चीनका राष्ट्रप्रमुखको सम्मानमा राष्ट्रपति भण्डारीले साँझ राजकीय भोजको आयोजना गर्ने कार्यक्रम रहेको छ ।

तेइस वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको हो । चिनियाँ राष्ट्रपतिका साथ विदेशमन्त्री वाङ यीलगायत उच्च अधिकारी भ्रमणदलमा सहभागी छन् । राष्ट्रपति सीको यो भ्रमणलाई नेपाल–चीनबीचको सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्ध अभिवृद्धिमा दूरगामी प्रभाव पार्ने विश्वास गरिएको छ ।

प्रकाशित : २५ आश्विन २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह