काठमाडौं । अमेरिकी सहयोगको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एससीसी)सँग सम्बन्धित आयोजना न्यू बुटवल–गोरखपुर प्रसारण लाइनमा सहमति जुटाउनेलगायतका उद्देश्यसहित नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक सोमबारदेखि नयाँ दिल्लीमा सुरु हुँदैछ ।
एमसीसी संसदबाट पारित हुन नसकेको तथा भारतको समेत सहमतिका शर्त अघि सारिएपछि यो बैठकलाई चासोपूर्वक हेरिएको छ । यो प्रशारणलाइनमा सहमति हुन नसके एमसीसीको सहयोग कार्यान्वयनमा बाधा पुग्नेछ ।
न्यू बुटवल–गोरखपुर प्रसारण लाइनलाई नेपाल सरकारले विशेष महत्वमा राखेको छ । सो प्रसारणलाइन निर्माणका लागि संयुक्त कम्पनी बनाएर जान सकिनेमा नेपालको जोड रहँदै आए पनि भारतीय पक्षले अझै स्पष्ट जवाफ दिएको छैन ।
दुई दिनसम्म चल्ने नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा अन्तरदेशीय प्रसारण लाइनसहित इनर्जी बैंकिङलगायतका विषयमा छलफल गर्ने र सकेसम्म सहमति जुटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए ।
प्रतिक्रिया