Logo

Banner-news

जग्गा अधिग्रहण नसकिँदै सुरुङमार्ग शिलान्यासको हतारो, पुसबाट मात्रै काम सुरु हुने !


GDP Nepal
   ४ कार्तिक २०७६, सोमबार


काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्गको आज प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्दैछन् । काठमाडौं उपत्यका भित्रिने र उपत्यकाबाट बाहिरिने सबैभन्दा ठूलो नाकाको व्यवस्थापनका लागि लाइफलाइन मानिएको यो सुरुङमार्ग अत्यावश्यक भए पनि शिलान्यासमा भने सरकारले हतारो देखाएको छ ।

सुरुङमार्ग आयोजनाका अनुसार सोमबार शिलान्यास भए पनि यसको निर्माण भने तत्कालै सुरु हुनेछैन । मुआब्जालगायतका केही तयारी बाँकी रहेकाले समयमै तयारी पूरा भए आउँदो पुसबाट मात्रै काम सुरु हुनेछ ।

नेपालमा गाडी गुडाउन मिल्ने पहिलो सुरूङमार्ग र फ्लाइओभरसमेत भएकाले यसमा धेरैको चासो छ । नेपालको भौगोलिक अवस्थाका कारण सुरुङमार्ग आफैंमा एकदमै आवश्यक भएकाले नेपाललाई सुरूङ युगमा प्रवेश गराउने यो परियोजनाप्रति उत्साह पनि छ ।

यस्तै, आयोजना जापानी प्रविधिबाट बन्ने भएकाले प्रविधि हस्तान्तरणमा दृष्टिले पनि यो निकै महत्वपूर्ण हुनेछ । हालसम्म जलविद्युत् र खानेपानी आयोजनामा मात्र सुरुङ बनाएको अनुभव नेपालसँग छ ।
आयोजना निर्माणको ठेक्का जापानको हाज्मा आन्दो कर्पोरेसनले पाएको छ । उसले यो आयोजना सुरुङ र सडक गरि जम्मा पाँच किलोमिटर लामो निर्माण पूरा गर्नेछ । जसमध्ये सुरूङको दूरी २.६८ किलोमिटर रहने जनाइएको छ ।

आयोजना स्रोतका अनुसरा ठेकेदारलाई कन्सल्ट्यान्टले काम सुरु गर्ने पत्र दिइसकेको छैन भने आयोजनाले पनि सम्पूर्ण अधिकार प्रत्यायोजन गर्न बाँकी छ । काम सुरु भएको ४२ महिनाभित्र आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

२२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा नेपाल सरकारले ६ अर्ब तथा बाँकी जापान सरकारको सफ्ट लोन रहनेछ ।

प्रकाशित : ४ कार्तिक २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह