काठमाडौं । विश्व बैंकले हरेक वर्ष सार्वजनिक गर्ने व्यवसायमैत्री वातावरण अर्थात डुइङ बिजनेससम्बन्धी इन्डेक्समा नेपालले फड्को मारेको छ । अघिल्लो वर्ष २ स्थान तल खस्किएपछि आलोचना खेपेको नेपालले यस वर्ष भने गत वर्षभन्दा १६ स्थान सुधार गरेको छ ।
डुइङ बिजनेस इन्डेक्सको सूचीमा नेपाल अघिल्लो वर्ष ११०औं स्थानमा रहेको थियो भने यस वर्ष ९४ औं स्थानमा उक्लिएको छ । प्रतिवेदनअनुसार नेपालले निर्माणअघिका प्रक्रिया सहज बनाएको, भवन निर्माण इजाजतका शुल्क घटाएको तथा अनलाइन मार्फत प्रक्रियाहरुलाई थप सुधार गरेको छ भने कर्जा प्रणाली तथा त्यसबारे वृहत सूचना दिने संयन्त्र र पहुँच स्थापित गरेको छ ।
तर, नेपालमा सम्पत्ति दर्ता महँगो भएकोदेखि रोजगारदाता कम्पनीहरुले कर्मचारीको सामाजिक सुरक्षाका कारण समस्या भोगेको उल्लेख छ ।
अर्कोतर्फ छिमेकी भारत र चीन सर्वाधिक सुधार गर्ने विश्वका २० देशहरुको सूचीमा परे पनि नेपालले भने पर्न सकेको छैन । भारत दक्षिण एशियाली देशहरुमध्ये सबैभन्दा अग्र स्थानमा छ। दोस्रो स्थानमा भुटान रहेको छ भने नेपाल तेस्रो स्थानमा छ ।
विज्ञहरुले भने यसलाई त्यति उत्साहजनक मान्न नसकिने जनाएका छन् । पूर्व अर्थसचिव डा. शान्तराज सुवेदीले भने–
डुइङ बिजनेस (व्यवसायमैत्री वातावरण) रिपोर्ट २०२० को नतिजालाई मैले सकारात्मक रुपमा लिएको छु । यसले नेपालमा व्यापार व्यवसाय गर्ने वातावरण सहज बन्दै गएको देखाएको छ । गतवर्षको ११० बाट ९४ औँ स्थानमा उक्लिनु आफैमा सुधारको संकेत हो। यस प्रतिवेदनले समेट्ने १० वटा क्षेत्रका सूचकांकमध्ये ५ मा सुधार भएको छ भने ३ मा गिरावट आएको छ, तर २ मा स्थिर देखिएको छ । नेपाल सर्वाधिक सुधार गर्ने २० राष्ट्रमा नपरे पनि आशा गर्ने ठाउँ भने देखिएको छ । तर, यत्तिमै चित्त बुझाउने स्थिति भने छैन । सुधारका नीतिगत प्रयासहरुलाई साँच्चिकै व्यवहारमा उतार्नु आवश्यक छ । यसका लागि सुशासन र भ्रष्टाचार नियन्त्रणमा जोड दिनुको विकल्प छैन ।
यस्तै, अर्का पूर्वसचिव अनुपकुमार उपाध्यायले भनेका छन्–
राज्यले गर्नुपर्ने विषय जहाँको तहीँ छ । केही झनै बिग्रेको छ ।
प्रतिक्रिया