Logo

मुख्य समाचार

फेसबुक, एक्स, इन्स्टादेखि स्न्यापच्याटसम्म नेपालमा दर्ता नभए अब चल्न नदिइने


gdpnepal
   २१ माघ २०८१, सोमबार


काठमाडौं । सार्वभौम मुलुक नेपालको नीति निर्देशनलाई बेवास्ता गर्दै आइरहेका फेसबुक एक्स (ट्वीटर), इन्स्टाग्रामदेखि स्न्यापच्याट र युट्युबसम्मका सामाजिक सञ्जालहरुलाई सरकारले नेपालमा दर्ता हुन अन्तिम मौका दिएको छ ।

नेपालमा अत्यधिक प्रयोग हुने ठूला सामाजिक सञ्जालले नेपाल सरकारका निकायमा विधिवत दर्ता हुनुपर्ने र नेपाल सरकारले दिएका चार बुँदा कार्यान्वयन गर्नुपर्ने भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार निर्देशन जारी गरेको छ ।

नेपालमा हालसम्म भाइबर, टिकटक र वीटक मात्र दर्ता भएका छन् ।

सरकारले जारी गरेको निर्देशनमा सामाजिक सञ्जालहरुले नेपालमा पर्यटन प्रवद्र्धन गर्न सहयोग गर्नुपर्ने तथा देशभर साइबर सुरक्षासम्बन्धी तथा डिजिटल साक्षरताका पहलहरूलाई सहयोग गर्नुपर्ने शर्त राखिएको छ ।

यस्तै, शिक्षा क्षेत्रको डिजिटल रूपान्तरणमा योगदान गर्ने, विशेष गरी विद्यालय तथा कलेजहरूको शिक्षाको गुणस्तर सुधार गर्न केन्द्रित रहनुपर्ने भनिएको छ ।

नेपाली तथा अन्य राष्ट्रिय भाषाहरूमा सामग्री छानबिन तथा व्यवस्थापन गर्ने प्रविधि कार्यान्वयन गर्नुपर्ने र सामाजिक सद्भाव खल्बलाउने वा साइबर अपराधलाई उक्साउने अवैध तथा अनुपयुक्त सामग्री हटाउन सरकारी निकायहरूसँग सहकार्य गर्नुपर्ने शर्त राखिएको छ ।
“सम्बन्धित सबै सरोकारवालाहरूलाई यी प्रावधानहरूको पालना गर्न र नेपालमा सुरक्षित, व्यवस्थित, तथा मर्यादित डिजिटल वातावरण सुनिश्चित गर्न सरकारलाई सहयोग गर्न अनुरोध गरिन्छ,” मन्त्रालयले भनेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हाल भने सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ को आधारमा पुनः दर्ताका लागि सोमबार सूचना निकालेको हो ।

 

प्रकाशित : २१ माघ २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह