काठमाडौं । नेपालले काठमाडौंमा बिमस्टेक नेटवर्क अफ टुर अपरेटर्स (BNTO) को तेस्रो बैठक आयोजना गरिरहेको छ। बिमस्टेक सदस्य राष्ट्रहरू – बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका, थाइल्याण्ड, र नेपालका पर्यटन सम्बन्धित निकायहरू तथा निजी क्षेत्रका सरोकारवालाहरूलाई एकै स्थानमा समेट्दै, यो बैठकले क्षेत्रीय पर्यटन प्रवर्द्धन र सहकार्यलाई थप सुदृढ पार्ने लक्ष्य राखेको छ। यस बैठकलाई नेपाल पर्यटन बोर्डले सहजीकरण तथा समन्वय गरिरहेको छ।
बैठकको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोद प्रकाश सिंह तथा बिमस्टेकका निर्देशक सी थु आङले संयुक्त रूपमा गरे
। सचिव सिंहले नेपालको दिगो पर्यटन प्रवर्द्धन तथा प्राकृतिक एवं सांस्कृतिक सम्पदाको संरक्षणप्रति प्रतिबद्धता व्यक्त गर्दै, बिमस्टेकले क्षेत्रीय पर्यटन सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अवसर प्रदान गर्ने उल्लेख गरे । उनले सीमापार पर्यटन प्रवर्द्धन तथा साझा सम्पदाको अधिकतम उपयोग बिमस्टेक सदस्य राष्ट्रहरूका लागि लाभदायक हुने बताए ।
बिमस्टेकका निर्देशक सी थु आङले पर्यटनलाई क्षेत्रको प्रमुख आर्थिक क्षेत्रका रूपमा परिभाषित गर्दै, सहकार्यद्वारा यस क्षेत्रका पर्यटन सम्भावनाहरूको सदुपयोग गर्न सकिने बताए । उनले क्षेत्रीय सहकार्यले दीर्घकालीन साझेदारी निर्माण गर्नुका साथै रोजगारी, राजस्व वृद्धिमा योगदान पुर्याउने र जनता-जनताबीचको सम्बन्धलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपक राज जोशीले बैठकप्रति उत्साह व्यक्त गर्दै क्षेत्रीय पर्यटन प्रवर्द्धनमा नेपालको अग्रणी भूमिकालाई विशेष रूपमा उजागर गरे । उनले यस बैठकलाई सहकार्य र रणनीतिक योजना विकासको प्रमुख अवसरका रूपमा चित्रण गर्दै, नेपालले बिमस्टेक साझेदार राष्ट्रहरूसँग मिलेर पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।
बैठकमा बिमस्टेक बौद्ध तथा क्रूज सर्किट सञ्चालन, गन्तव्य व्यवस्थापन, संयुक्त मार्केटिङ, सांस्कृतिक आदानप्रदान कार्यक्रम, भिसा सहजीकरण, तथा बिमस्टेक ट्राभल एण्ड टुरिज्म मार्टको वार्षिक आयोजना जस्ता विषयहरूमा विस्तृत छलफल हुनेछ। साथै, सीमापार यात्रा सहज बनाउन विशेष पर्यटकीय सर्किटहरूको विकास तथा अन्वेषण गर्ने विषयलाई समेत बैठकको प्राथमिकतामा राखिएको छ।
यस बैठकको निष्कर्षले सार्वजनिक-निजी साझेदारीलाई थप मजबुत बनाउँदै, पर्यटन व्यवस्थापनमा सुधार ल्याउने तथा बिमस्टेक क्षेत्रमा निर्बाध सम्पर्कलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। यसले क्षेत्रीय पर्यटन वृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।





प्रतिक्रिया