काठमाडौं । नेपाल र भारतबीच सबैभन्दा बढी व्यापार हुने वीरगन्जस्थित एक नाका बन्द गर्न भारतीय अधिकारीहरुले दबाब दिएका छन् । भारतीय पक्षले दुई मुलुकबीच एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सञ्चालनमा आइसकेको कारण देखाउँदै सीमानाको भन्सार बन्द गर्न प्रस्ताव गरेको हो ।
आईसीपीबाट नेपाल भारतबीचको सबै व्यापार सम्भव हुँदैन । खासगरी औद्योगिक कच्चा पदार्थ र त्यसमा पनि धुलोजन्य वस्तु (डस्टी कार्गो) ल्याउन यसबाट समस्या हुन्छ । यसले नेपालको औद्योगिक क्षेत्र नै प्रभावित हुनेछ ।
इन्धन र रेलबाट आउने फलाम, डर्टी कार्गोहरू कोइला, जिप्सन, फ्लाएस, स्लेगलगायत मालसामान रक्सोलबाट नै ढुवानी हुँदै आएको छ । फलाम बाहेकका सबै सामान सिमेन्ट उद्योगमा प्रयोग गरिने कच्चा पदार्थहरू हुन् । सिमेन्ट उद्योगमा प्रयोग गर्ने कच्चा पदार्थ मध्य क्लिंकर भने सन् २०१८ डिसेम्बर २२ तारिकदेखि रक्सोल नाकामा अनलोड गर्न रोक लगाएको छ ।
भारत सरकारको वित्त मन्त्रालयले पटनास्थित सीमा शुल्क निवारण कार्यालयलाई सबै सरोकारवालाहरूसँग छलफल गर्न पत्रचार गरेको जनाइएको छ । भारत सरकारले आईसीपी पूर्ण रूपमा सञ्चालनमा ल्याएर रक्सोल नाका बन्द गर्ने व्यहोराको पत्राचार गरेपछि रक्सोलबाट वीरगन्जको इनर्वास्थित साबिकको भन्सार हुँदै ढुवानी हुने डर्टी कार्गोका आयातकर्ताहरूलाई भने तनाव भएको छ ।
भारतले रक्सोल स्टेसनमा रोक लगाएपछि भारतकै मुज्जफरपुरको नारायणपुरबाट ट्रकमा ढुवानी गर्दै आएकोमा अहिले भने आयात रोकिएको छ । अन्य डर्टी कार्गोहरू भने रक्सोलबाटै आउने गरेको छ । अब यसलाई पनि आईसीपीबाटै आयात गर्नुपर्ने बध्यात्मक अवस्थाको सिर्जना हुने भएपछि आयातकर्ताहरू चिन्तित भएका हुन् ।
उनीहरूको मुख्य चिन्ता भने सीमापारी भारततर्फको सडकको अवस्था नै हो । रक्सोलस्थित कार्गो अनलोड गर्ने रेलवे स्टेसनबाट आईसीपीसम्म जोड्ने सडक स्तरीय नहुँदा त्यहाँबाट कार्गो ढुवानीमा समस्या हुने उनीहरूको भनाई छ ।
दुवैदेशको भन्सार प्रणालीमा एकरूपता ल्याउनका लागि भारत सरकारले नै निर्माण गरिदिएको आईसीपीबाट ल्याउनुपर्ने अस्थाको सृजना भएको छ ।
प्रतिक्रिया