काठमाडौं । राजस्व अनुसन्धान विभागले नेपालमा पेप्सी उत्पादन गर्दै आएको बरुण बेभरेजविरुद्ध भन्डै २ अर्ब रुपैयाँ असुली र तीन वर्ष कैद माग गर्दै मुद्दा दायर गरेपछि नेपालको व्यावसायिक वृत्तमा सनसनी मच्चिएको छ ।
नेपालमा लामो समयदेखि उत्साहजनक व्यवसाय गर्दै आइरहेको बरुण बेभरेजले किन यसरी नक्कली बिजक प्रयोग ग¥यो भन्नेमा धेरै अनुमान गरिएका छन् । बहुराष्ट्रिय कम्पनीले सामान्यतया त्यस्तो काम गर्दैनन् किनकी एउटा देशमा गरेको गलत कामले संसारभर उनीहरुको क्रेडिबिलिटीमा असर पुग्छ ।
पेप्सी उत्पादनका लागि ६५ करोड त्यति ठूलो रकम पनि होइन । तर, कर्मचारीको बदमासीका कारण यस्तो भएको हुनसक्ने अनुमान गरिएको छ । किनकी पेप्सीले नक्कली बिजकमार्फत ६४ करोड ९६ लाख रूपैयाँ राजस्व छली गरेको भेटिएको अनुसन्धानमा खुल्न आएको विभागले जनाएको छ ।
विभागले दायर गरेको मुद्दामा ६४ करोड ९६ लाख २ हजार ३४० विगो तथा विगोको दोब्बर १ अर्ब २९ करोड ९२ लाख ४ हजार ६८० गरी कुल १ अर्ब ९४ करोड ८८ लाख ७ हजार २० रूपैयाँसम्म जरिवाना र ३ वर्ष सजायको माग दाबी गरिएको छ ।
बरुण वेभरेजले झुट्टा कारोबार मनसाय राखी नक्कली विजक तयार पार्ने ब्यक्तिसँग मिलेर वास्तविक रूपमा मालबस्तु नै खरीद नगरी झुट्टा तथा नक्कली कर विजक तयार पार्ने प्रयोजनका लागि योजनाबद्ध रूपमा दर्ता गरिएका फर्महरूबाट जारी गरेका बिजक खरीद गरी राजस्व छलेको विभागको आरोप छ ।
विभागका महानिर्देशक मैनालीले बरुण वेभरेज प्रालि र यसका पूर्व तथा वर्तमान संचालकहरूबाट विभागले एक अर्ब ६० करोडको बैंक जमानत लिएको जानकारी दिए ।
“आर्थिक वर्ष ०७०÷०७१ देखि ०७५÷०७६ सम्ममा झुटा मूल्य अभिवृद्धि करको कारोबारबाट भ्याट करतर्फ २५ करोड ३४ लाख र आयकर तर्फ लाभांश समेत गरी ३९ करोड ६१ लाख गरी कूल ६४ करोड ९६ लाख राजस्व छली गरेको देखिएको छ” मैनालीले भने ।
विभागले संचालकहरू अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविन कुमार अग्रवाल, विनोद सिंह भनिने विनोदकुमार सिंह र अशोक कुमारलाई प्रतिवादी बनाएको छ । प्रतिवादीहरूले नक्कली विजक खरिद गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित ऐ. ऐनको दफा ४ को (क) र (ख) बमोजिमको कसुर गरेको पुष्टि भएको उल्लेख गरेको छ ।
पेप्सीका सञ्चालक रविकान्त जयपुरियाको नेपालमा अपार्टमेन्ट व्यवसायसमेत छ, जुन भूकम्पका कारण अहिले बन्द छ ।
प्रतिक्रिया