Logo

बिजनेस होम

धुलिखेल अस्पतालको टोली लिएर पश्चिम नवलपरासीस्थित चौपत्ता अस्पताल पुगे सांसद विनोद चौधरी


gdpnepal
   ३ बैशाख २०८२, बुधबार


नवलपरासी । नेपालकै ख्यातिप्राप्त धुलिखेल अस्पतालको टोली लिएर सांसद विनोद चौधरीले पश्चिम नवलपरासीमा रहेको चौपत्ता अस्पताल (शहिद स्मृति सामुदायिक अस्पताल)को अवलोकन गरेका छन् । चौपता अस्पताललाइ धुलिखेल अस्पतालको आउटरिच अस्पतालका रूपमा सन्चालन गर्ने उदेश्यका साथ साम्सद चौधरीले यस्तो पहल गरेका हुन ।


बर्दघाट नगरपालिकाको वडा नं. १४ मा रहेको अस्पतालको सेवा प्रवाह थप गुणस्तरीय र व्यवस्थित बनाउन सांसद चौधरीसहित धुलिखेल अस्पतालको टोलीले स्थलगत अवलोकन गरेको हो ।


पश्चिम नवलपरासी–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद एवं प्रतिष्ठित उद्योगपति चौधरीको पहलमा धुलिखेल अस्पताल र बर्दघाट नगरपालिको समन्वयमा उक्त अस्पतालमा सेवा विस्तारको तयारी गएको हो । धुलिखेल अस्पतालका चिकित्सकको टोलीले अस्पतालको अवलोकनका गर्नुका साथै अस्पताललाई कसरी प्रभावकारी र व्यवस्थित रुपमा संचालन गर्न सकिन्छ भन्नेबारे सरोकारवालासँग छलफल अघि बढाएको हो ।

 


सांसद चौधरीले नगरपालिका र धुलिखेल अस्पतालको समन्वयमा शहिद स्मृति सामुदायिक अस्पतालको सेवा बिस्तार गर्नसके स्थानीय जनतामा सुविधा हुने विश्वास व्यक्त गरे ।


यस्तै सांसद चौधरीकै पहल र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको समन्वयमा रोटरी क्लव अफ धुलिखेलले ६ वटा डायलासिस मेसिन उपलब्ध गराएको थियो । मेसिन सञ्चालन र यसको प्रयोगबारे धुलिखेल अस्पतालले चौपता अस्पतालका कर्मचारीलाई तालिम दिने काम भइरहेको छ ।


धुलिखेल अस्पतालको आउटरिच सेन्टरका रुपमा चौपत्ता अस्पताल सञ्चालन भए नवलपरासीका मात्रै नभई नजिकका जिल्लाका नागरिकलाई पनि विशेषज्ञसहितको स्वास्थ्य सुविधा उपलब्ध हुनेछ । स्वास्थ्य सामग्री राम्रो भएर पनि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन नसकेको चौपत्ता अस्पताललाई सांसद चौधरीले सुविधा सम्पन्न अस्पतालका रुपमा विकास गर्न खोजेका हुन् ।


शिक्षा, स्वास्थ्य र रोजगारी मुख्य एजेण्डा बनाएका सांसद चौधरीले निर्वाचनका समयमा सो अस्पताललाई त्यस क्षेत्रकै एउटा नमूना र रिफरर अस्पतालको रुपमा संचालन गर्ने घोषणा गरेका थिए । धुलिखेल अस्पतालको टीमले चौपत्ता अस्पतालको भौतिक अवस्थादेखि अन्य पूर्वाधारका विषयमा अवलोकन गरेको छ । धुलिखेल अस्पतालको सहजीकरणमा सञ्चालन भए चौपत्तामा भर्ना हुने विरामीलाई उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराइनेछ भने त्यहाँ उपचार हुन नसकेका विरामीहरूलाई धुलिखेल अस्पतालमा उपचार गरिनेछ ।

सांसद चौधरीकै पहलमा बर्दघाटमा रहेको चिसापानी अस्पतालको काँचुली फेरेको छ भने बर्दघाटमै ट्रमा सेन्टर निर्माण कार्य भइरहेको छ । काठमाडौं बाहिर पहिलो ट्रमा सेन्टर बर्दघाटमा बन्ने भएपछि जिल्लाबासी खुसी भएका छन् ।

 

प्रकाशित : ३ बैशाख २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह