Logo

Banner-news

मूल्य नपाएपछि चियाबगान फाँड्दै किसान, सुन्दर बगानमा अब सिमेन्ट उद्योग !


GDP Nepal
   २२ पुस २०७६, मंगलबार


झापा । गुलियो उखुको खेती गर्ने किसानको तितो कथा सेलाउन नपाउँदै चिया किसानको चर्चा सुरु भएको छ ।

हुन त चिया किसानको व्यथा नयाँ होइन तर असह्य भएपछि उनीहरुले सुन्दर चियाबगान नै मासेर कंक्रिटको जंगल बनाउन लागेका छन् अर्थात सिमेन्ट उद्योग । न रहे बाँस न बजेगा बाँसुरी भनेजस्तै उनीहरु अब सधैँको समस्यासँग जुध्न हैन पन्छाउन लागिरहेका छन् ।

झापामा रहेकी कारोबार दैनिककी पत्रकार मनिषा चम्लागाईँ लेख्छिन्– जिल्लाका साना चिया किसानले चिया बगान मासेर अन्य कृषिजन्य खेती सुरु गरेका छन् । सरकारले चियाखेतीमा कुनै सहुलियत नदिएकाले पुराना चिया किसान बगान मास्ने अवस्था आएको दाबी गर्छन् ।

चिया तथा कफी विकास बोर्डको तथ्यांकअनुसार झापामा ३५ सय बढी साना चिया किसान छन् ।

झापा बिर्तामोड नगरपालिका –७ का प्रदीप श्रेष्ठले चिया व्यवसायबाट लाभ लिन नसकेपछि २३ बिघा चियाको बगान बिक्री गरे । चिया उत्पादनले लागतसमेत थेग्न नसके अवस्था आएपछि श्रेष्ठले जग्गा बिक्री गरेका हुन् । उक्त चिया बगान काठमाडौंका महर्जन थरका एक व्यक्तिले खरिद गरेको स्थानीय श्री सिटौलाले बताए । २५ वर्ष अगाडि लगाइएको उक्त चिया बगान अहिले खरिदकर्ता महर्जनले पार्क बनाउनका लागि धमाधम फाँडिरहेका छन् ।

झापा हल्दिबारी गाउँपालिका –३का साना चिया किसान श्रीप्रसाद मैनाली मैनालीले ३ बिघा क्षेत्रफलको चिया उखेलेर सिमेन्ट फ्याक्ट्री सञ्चालनमा ल्याउँदै छन् । १६ बिघा जमिनमा चिया लगाएका उनले अब बाँकी १३ बिघा चिया पनि नष्ट गर्ने सोचमा छन् । श्रम ऐनअनुसार श्रमिकको लागत बढेको तथा हरियो पत्तीले उचित मूल्य नपाएको साना किसानको भनाइ छ ।

लागतअनुसार हरियो चियापत्तिले मूल्य पाएको छैन । सरकारले साना चिया किसानलाई दिदैँ आएको मल कटौती गरेपछि चिया बगान ‘घाटाको व्यवसाय’ भएको मैनाली बताउँछन् । “आफैं खरिद गरेर चियालाई मल लगाउँछु भन्दा पनि बजारमा मल पाइँदैन,” मैनालीले भने, “हरियो पत्तिको मूल्य नै छैन बगान कसरी जोगाउने ?” उक्त चिया बगान मैनालीले २०५१ सालमा लगाएका थिए ।

पछिल्लो समय उनी प्रतिबिघा वार्षिक ९ हजार किलो हरियो पत्ति उत्पादन गर्छन् । उत्पादन लिन सुरु गर्दाको वर्षमा उनले हरियो पत्ति २२÷२३ रुपैयाँ प्रतिकिलो बिक्री गरेको बताउँछन् । तर, अहिले उनी हरियो पत्ति प्रतिकिलो ७ रुपैयाँदेखि १२ रुपैयाँमा बिक्री गर्न बाध्य छन् ।

एक किलो हरियो पत्तीको लागत नै १५ रूपैयाँसम्म पर्ने गरेकाले घाटा खाएर चिया बचाउन नसकेको उनको भनाई छ । वार्षिक एक बिघा जमिनमा ३०÷४० हजार रुपैयाँसम्म घाटा खाएर बगान थेग्न नसकेको मैनालीले बताउँछन् ।

“नेपालमा चियाको अक्सन प्रणली स्थापना नभएर पनि साना किसान मारमा परेका छन्, कसरी बगान चलाउन सक्नु ?” उनले प्रशन गरे । मलखाद, किटनासक औषधिको मूल्यवृद्धिले गर्दा पनि चिया व्यवसायमा भविष्य नै नरहेको उनले बताए । चिया क्षेत्रमा काम गर्ने श्रमिककोसमेत अभाव रहेको उनी बताउँछन् ।
विगतका वर्षमा २ रूपैयाँ प्रतिकिलोसम्म हरियो चिया पत्ती बेच्नु परेको स्मरण गर्दै उनी भन्छन्, “कसैले गर्न नहुने व्यवसाय हामीले सुरु गरेछौँ, अहिले फाँड्नसमेत घाँडो भएको छ ।”

हल्दिबारी गाउँपालिकाका साना किसानहरूले २० बिघा जमिनको चिया नष्ट गरिसकेका छन् । हल्दिबारी –३ कै सहतलाल राजवंशीले गत वर्ष ५ बिघा क्षेत्रफलमा लगाइएको चिया फाँडेर धान खेती गरे । त्यस्तै, स्थानीय सरोज बिमलीले तीन बिघा क्षेत्रफलमा लगाइएको चिया उखेलेर उक्त ठाउँमा तोरी लगाएका छन् ।

दीपेन्द्र भट्टलाईले ४ बिघा क्षेत्रफलको चिया उखेलेका छन् । हलिदबारीकै रामहरी थापा पनि चिया बनाग नष्ट गर्ने सोचमा छन् । झापामा मुख्य नगदेबाली अनतरग रहेको चिया क्षेत्रमा आवश्यक प्राविधिकको समेत अभाव रहेको झापा हल्दिबारी –३का सौतालाल मेचेले बताए । सरकारले चिया किसानलाई आवश्यक सहयोग गर्न नसकेकै कारण कृषक अन्य व्यवसाय गर्न बाध्य हुनु परेको मेचेको भनाई छ ।

चिया क्षेत्रको प्रवद्र्धनमा सरकारी बेवास्ता र लापर्बाहीले साना किसानले चिया बगान फाँड्न सुरु गरेको साना किसान झापाली चिया व्यवसायी संघका अध्यक्ष पूर्ण कार्की बताउँछन् ।

“चियाको नीति निर्माणका लागि हामी साना किसानले ३ पटकसम्म कृषि मन्त्रीलाई ज्ञापन पत्र बुझायौँ” अध्यक्ष कार्कीले भने, “चियामा सरकारको दृष्टि नै पुग्न सकेन ।” ठूला उद्यमीले साना किसानलाई हरियो पत्तीको उचित मूल्य नदिएको गुनासो साना किसानले गरेसँगै झापाको हल्दिबारी गाउँपालिकामा २ वटा, मेचीनगर नगरपालिकामा १वटा र भद्रपुर नगरपालिकामा १ वटा गरेर साना किसानले चार वटा चिया प्रशोधन केन्द्र सहकारी मार्फत सञ्चालनमा ल्याए । तर, ३ हजार किसान अझै पनि प्रशोधन केन्द्रभन्दा बाहिर रहेको कार्कीको भनाई छ ।

उक्त चारवटा प्रशोधन सहकारीमा ५ सय बढी किसान आबद्ध रहेका छन् । “प्रशोधन केन्द्र स्थापना गरे पनि साना किसानलाई कुनै फाइदा भएन” कार्की भन्छन्, “चिया व्यवसाय छाडा व्यवसाय रैछ, यस व्यवसायको कुनै सिस्टम नै छैन, प्रशोधन केन्द्रले कुनै ठोस परिवर्तन ल्याउन सकेन ।” केही वर्षभित्रै झापाका सबै साना किसान चिया क्षेत्रबाट पलायन हुने कार्की बताउँछन् ।

कारोबार दैनिकबाट

प्रकाशित : २२ पुस २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह