विराटनगर । विराटनगरमा निर्माण भएको इन्टिग्रेटेड चेकपोष्ट अर्थात आईसीपी मंगलबार दुवै देशका प्रधानमन्त्रीले आआफ्नै कार्यकक्षबाट उदघाटन गरे । भारत सरकारको २ अर्ब १० करोड लगानीमा निर्माण भएको यो आईसीपी विराटनगरको बुधनगरमा रहेको छ ।
सन् २००५ मा नेपाल र भारत सरकारबीच दुवै देशका सिमानामा पर्ने वीरगञ्ज, विराटनगर, भैरहवा र नेपालगञ्ज नाकामा आधुनिक एवं सुविधासम्पन्न आईसीपी निर्माण गर्ने सहमति भएको थियो । चारवटै नाकाको आईसीपी सन् २०१८ भित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख थियो ।
जसअनुसार वीरगञ्जको आईसीपी दुई वर्षअघि नै सञ्चालनमा आइसकेको छ । तर, भैरहवा आईसीपीका लागि नेपालले आफ्नोतर्फ १० वर्षअघि ५२ बिघा जग्गा अधिग्रहण गरे पनि भारतले गत वर्षबाट मात्रै अधिग्रहण सुरु गरेको छ । सीमा नाका सुनौलीमा आईसीपी निर्माणको लागि भारतले करिब ४६ हेक्टर जग्गा अधिग्रहण गरेको छ ।
यस्तै, नेपालगन्ज उपमहानगरपालिका वडा नं १६ जयसपुरमा आइसिपी निर्माणका लागि सरकारले ९०.८० बिघा जग्गा अधिग्रहण गरेको थियो । तर, भारतले समयमै निर्माणमा चासो नदिँदा २०६७ देखि आईसीपी अधुरै रहेको हो । अधिग्रहण गरिएको जग्गामध्ये ६६.४४ बिघा भन्सार नाका र करिब २४.३६ बिघा पहुँच मार्गका लागि छुट्ट्याइएको छ ।
विराटनगरमा निर्माण भएको अत्याधुनिक र सुविधा सम्पन्न आईसीपीको मंगलबार दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उदघाटन गरेसँगै सञ्चालनमा आएको हो । आईसीपी नेपाल–भारत सीमाको बुधनगर र भारततर्फको जोगबनीमा निर्माण भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित कन्ट्रोल रुमबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कार्यालयबाट स्विच थिचेर आईसीपीको उद्घाटन गरेका हुन् । भिडियो कन्फरेन्समार्फत नै भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई आईसीपी हस्तान्तरण गरे । अब यसको सञ्चालन जिम्मेवारी भन्सार विभागले पाएको छ ।
आईसीपी उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले यो दुई मुलुकबीचको सम्बन्धको उदाहरण भएको बताए । उनले भारतसँग नजिक रहेर नेपालले काम गर्न चाहेको पनि बताए ।
आईसीपीभित्र कार्गो भवन, यात्रु टर्मिनल भवन, मुद्रा सटही सुविधा, इन्टरनेट, वेयरहाउस, कोल्ड स्टोरेज, क्लियरिङ एजेन्ट, सिसिटिभी, पार्किङ, रेस्टुरेन्ट, बैंक, इलेक्ट्रिक सब स्टेशन, वे ब्रिज, कस्टम्स बिल्डिङ, सशस्त्र प्रहरीको सुरक्षा ब्यारेक, मालबाहक सवारीका चालक र सहचालकका लागि डोरमेटरी र क्वारेन्टाइनका छुट्टाछुट्टै ८ वटा भवन छन् ।
यसबाहेक ४ वटा वाच टावर, २ वटा वेयर हाउस, २ वटा इम्पोर्ट एक्स्पोर्ट प्रोसेसिङ सेड र ८० मेट्रिक टन क्षमताका २ वटा धर्मकाँटा छन् । आईसीपीबाट दैनिक ५ सयभन्दा बढी मालबाहक ट्रक आवतजावत गर्न सक्नेछन् ।
प्रतिक्रिया