Logo

Banner-news

कोरोनाले नेपाली अर्थतन्त्रमा कस्तो प्रभाव पार्ला ? नेपालले के गर्नुपर्छ ?


GDP Nepal
   २ फाल्गुन २०७६, शुक्रबार


काठमाडौं । चीनमा नोबल कोरोना भाइरसका कारण करिब १ हजारको मृत्यु र ४७ हजार संक्रमित भएको अनुमान छ । यसले विश्व अर्थतन्त्रको मियो चीनमात्र नभइ विश्वभर असर पार्ने देखिन्छ ।

चीनको छिमेकी मुलुक भएकाले नेपाल पनि यसबाट अछुतो रहन सक्दैन । नोबल कोरोनाको असर नेपालमा कस्तो पर्न सक्छ भनेर अर्थशास्त्री प्रा. डा. विकाशराज सत्यालले हालै एक राष्ट्रिय दैनिकमा प्रकाशित गरेको टिप्पणीको सम्पादित अंशः

नेपाल सरकारले आफ्नो २०७६–७७ आवको बजेट भाषणमा ‘समृद्ध नेपाल खुसी नेपाली’को सपनालाई वैदेशिक लगानी, निर्यात व्यापार र पर्यटनबाट आर्थिक वृद्धि गरी औसत सम्पन्न राष्ट्रको दर्जामा उक्लिन खोजेको उल्लेख गरेको छ । नेपालका लागि वैदेशिक मुद्रा आर्जनको सहज र भरपर्दो बाटो पर्यटन थियो, जसका लागि सन् २०२० पर्यटन वर्ष नै घोषणा गरियो, २० लाख पर्यटक ल्याउने लक्ष्यसहित ।


गत वर्ष पर्यटकबाट नेपालले रु. ७७.८ अर्ब कमाएको थियो जो जीडीपीको २.२ प्रतिशत हुन्छ । नेपालमा चिनियाँ पर्यटकको आगमन लगातार बढ्दै गएको छ । पर्यटन मन्त्रलयको तथ्यांक हेर्दा २०७४ मा ११ लाख ७३ लाख पर्यटक भित्रिँदा १ लाख ५४ हजार चिनियाँ भित्रिएका थिए, जुन कुल पर्यटकको १३ प्रतिशत हुन्छ ।

गत वर्षको पर्यटक आगमन वृद्धिदर पनि कुलमा १८ प्रतिशत हुँदा चिनियाँ ३२ प्रतिशतले बढेको देखिन्छ । यसै कारण यो भ्रमण वर्षको प्रमुख आकर्षण चिनियाँ पर्यटक थिए । यसैका लागि नेपाल पर्यटन बोर्डले चीनमा राम्रै प्रचार गरेको पनि थियो ।

चिनियाँ अभिनेत्री एवम् मोडलसमेत बोलाएर चिनियाँ पर्यटक लक्षित प्रचार सामग्री बनाइएको थियो । नेपालमा मुख्य पर्यटन सिजन अक्टोबरदेखि डिसेम्बर हुँदै फरवरीसम्म मानिन्छ । तर, त्यही समय अन्नपूर्ण क्षेत्रमा आएको हिउँपहिरोमा कोरियाली र नेपाली पदयात्री हराए र धौलागिरि क्षेत्रमा आरोहीको मृत्यु भयो, जसले पर्यटक निकै सुकेको थियो ।

अहिले कोरोनाको प्रकोपले पोखरालगायत अधिकांश क्षेत्र सुनसान छ । पोखरा लुम्बिनी र हिमाल पदयात्र अधिकांश बुकिङहरू रद्द भइसकेको छ । राष्ट्रिय गौरवका धेरै जलविद्युत् योजनाहरू तथा मेलम्ची जसमा धेरै चिनियाँ प्राविधिक खटिएका थिए, नयाँ वर्ष मनाउन गएकाहरू कोरोनाले गर्दा नफर्किंदा अहिले निर्माण अबरुद्ध छ । त्यसै पनि विकास खर्च यो आवमा ज्यादै कम भएको छ ।

चालू आवको मध्यावधिसम्ममा पनि केवल १४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । पुँजीगत खर्च नहुँदा बजारमा तरलतामा संकुचन आएको छ, जसले मन्दी ल्याएको छ । भारतले पाम आयल र केही अन्य निर्यातमा लगाएको बन्देजले निर्यात लगातार घट्दै गएको छ, जसले व्यापारघाटा फेरि बढाएको छ ।

मूल्यवृद्धिले बजार सुस्त छ । प्याज, लसुनजस्ता आयातित दैनिक उपभोग वस्तुदेखि कुखुराको मासुमा अत्यधिक मूल्यवृद्धि भएको छ । नेपालको अर्थतन्त्र यी सबै घटनाले गम्भीर मोडमा पुगेको देखिन्छ ।

सरकारले बडो महत्वाकांक्षी भएर यो वर्षको आर्थिक वृद्धिको लक्ष्य ८.५ प्रतिशत राखेको थियो । अन्तर्रा्ष्ट्रिय मुद्राकोषलगायतले मध्यकालीन समीक्षा गर्दै यो वृद्धि ६ प्रतिशत ननाघ्ने भन्दा सरकार क्रुद्ध भयो । तर, कोरोनाको कोप तथा अन्य विश्व संकटहरूले र आन्तरिक कारणहरूले देशको आर्थिक वृद्धि ज्यादै न्यून हुने र समृद्धिको सपना चकनाचुर हुने संकेत भने दिएको छ, जसको उपचारका लागि वैकल्पिक रणनीति तत्काल ल्याउन जरुरी देखिन्छ ।

प्रकाशित : २ फाल्गुन २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह