काठमाडौं । मधेश प्रदेशका जिल्लाहरुमा असारमै खडेरी देखा परेपछि करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार हाल सम्म मधेश प्रदेशमा ३३.७८ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । गतवर्ष यस अबधि सम्म मधेश प्रदेशमा साढे ६१ प्रतिशत धान रोपाइँ भइसकेको थियो । मधेश प्रदेशमा रोपाइँ गर्न ढिलाइ हुनुको मुख्य कारण असारमै देखिएको खडेरी हो ।
मधेशमा पानी पर्न नसकेपछि त्यहाँका अधिकांश क्षेत्रका किसानहरुले बोरिङमार्फत सिँचाइ गरेर रोपाइँ गरिरहेका छन् । मधेश प्रदेश सरकारको मन्त्री परिषदले नै त्यहाँका आठ वटै जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ भने सम्भावित खाद्य संकट र कृषकको क्षतिको मूल्यांकनका लागि राहत तथा अनुदान कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ । कृषि विशेषज्ञहरूका अनुसार यदि केही दिनभित्र पर्याप्त वर्षा नभए मधेश प्रदेशमा खाद्य संकट निम्तिन सक्ने खतरा रहेको छ ।
मन्त्रालयका अनुसार देशभर हाल सम्म ५९ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अबधि सम्म देशभर ६७.७ प्रतिशत रोपाइँ भएको थियो । यसवर्ष रोपाइँ कम हुनुमा मधेश प्रदेशमा रोपाइँ हुन नसक्नुलाई मन्त्रालयले कारण मानेको छ ।
मन्त्रालयका अनुसार देशभर १३ लाख ८३ हजार ७३२ हेक्टर जमिनमा बर्षे धान खेती हुने गरेकोमा हालसम्म जम्मा ८ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ सकिएको हो ।










प्रतिक्रिया